२३ वैशाख,काठमाडौँ । प्रतिनिधिसभामा अहिले ठूला दलका गतिविधि भ्रष्टाचारका विषयमा सांसदहरूले आवाज उठाउने क्रम बढेको छ । दलीय बन्धन भन्दा बाहिर रहेका सांसदहरूले यी विषयहरुलाई बढी उठाउने गरेका छन् ।त्यस्तै सांसद मध्ये पर्छन्– प्रतिनिधिसभाका स्वतन्त्र सांसद अमरेशकुमार सिंह ।
कांग्रेस छोडेर स्वतन्त्र रहेका सांसद सिंह अहिलेका ठूला दलहरुले गरिरहेका कामप्रति प्रश्न मात्रै उठाइरहेका छैनन् नेपाललाई विदेशीहरूको चलखेलबारे पनि नजिकबाट नियालिरहेका छन् । कुनै समय भारतसँग निकट सम्बन्ध रहेको ठानिने सिंह अहिले भारतले नेपालमाथि चलखेल गरिरहेको विश्लेषण गरिरहेका छन् । नेपालको राजनीति, सत्ता गठबन्धनको भविष्य र भारतको भूमिका लगायतका विषयमा सांसद सिंहसँग इकान्तिपुरका दुर्गा खनालले गरेको कुराकानी ः
अहिले प्रतिनिधिसभामा तपाईं स्वतन्त्र सांसदको रुपमा प्रतिनिधित्व गर्नुहुन्छ । भ्रष्टाचारजन्य गतिविधिबारे बुँदागत रूपमा पनि राख्नुहुन्छ । पहिले राजनीतिक दलमा हुँदा भन्दा अहिले स्वतन्त्र हुँदा यी विषयमा बढी मुखर हुनुहुन्छ । यी विषय किन उठाइराख्नुभएको छ ?
पछिल्ला तीन कार्यकालमा काम गर्दाखेरि के देखियो भने, वास्तवमा जे हामी गरिरहेका छौं त्यो गलत हो । त्यो देशको लागि राजनीति होइन । राजनीति देश र जनताको पक्षमा हुनुपर्छ । पहिला दलमा हुँदा दलीय बाध्यता थियो । दलको नेता नै भ्रष्ट भएपछि दलकै नेताबाट विकृति सुरु भएपछि हामीले पार्टीभित्रका बैठकमा बोलिरहेका थियौं । त्यसैको परिणामस्वरुप चुनावमा टिकट पनि पाएनौं, कुनै अर्को कारण थिएन । दोस्रो कुरा पार्टी पूर्णतः विदेशीको दलाल जस्तै हुने, विदेशीको रिमोट कन्ट्रोल हुने, देश र जनताको पक्षमा नहुने अवस्था रह्यो । भूराजनीतिक अवस्था कस्तो छ भने, नेपाली नेता, प्रणालीलाई भ्रष्ट बनाइराख्ने, नेपाललाई गरिब बनाइराख्ने, नेपाली जनतालाई विदेशने बाध्यता बनाइराख्ने र नेपालमाथि शासन गरिराख्ने अघोषित रूपमा यो कुराले मलाई सा¥है पिरोल्यो । गत असोज २३ को मनोनयनमा दर्ता गराउनु अघि मैले आफूभित्रको कांग्रेसलाई मारिसक्या छु । विगतमा मेरा कमीकमजोरी होलान् । त्यसका लागि आम जनतासँग माफी पनि माग्न चाहन्छु ।
पहिला कसैले मलाई इन्डियाको दलाल भन्थ्यो, कसैले मधेसी भन्थ्यो, कसैले प्रचण्डकै, कसैले शेरबहादुरकै दलाल भन्दिन्थ्यो । म दलाल कसैको होइन । राष्ट्र बुझ्ने क्रममा मेरो भोगाइ बुझेर यो निष्कर्षमा पुगें कि, यो राष्ट्रका दुईवटा समस्या हुन्– एउटा भ्रष्टाचार र दोस्रो विदेशीको हस्तक्षेप । यी दुवैबाट मुक्त हुनुपर्छ ।
तपाईंले भ्रष्टाचारको कुरा उठाइराख्नुभएको छ, भ्रष्टाचार कुन तहमा छ ?
पाँच सय, हजार रुपैयाँ सिपाही, ट्राफिक पुलिस वा कार्यालय सहयोगीले खाएर भ्रष्टाचार हुने होइन । अर्बौंको भ्रष्टाचार प्रधानमन्त्रीको तहमा पार्टी अध्यक्षको तहमा सर्वदलीय भ्रष्टाचार छ । मैले तपाईंलाई बुँदागत गणना गरिदिन्छु– वाइडबडीको भ्रष्टाचार सर्वदलीय भ्रष्टाचार हो । पोखरा विमानस्थलको भ्रष्टाचार सर्वदलीय हो । सबैको फाइल मसँग छ । आयल निगमको जग्गा सर्वदलीय भ्रष्टाचार हो । गिरीबन्धु टी स्टेटको जग्गा, जो भर्खर सापकोटा थरको ’पम्फादेवी’ (अमरेशकुमार सिंहले राखेको नाम) को भाइले गराएको छ । त्यसैकारण सचिव टेकनारायण पाण्डे पहिले भूमिसुधार सचिव थिए । त्यहाँ १०० करोडको भ्रष्टचार गरेवापत् गृह सचिव बनाइएको हो । किनभने नेताहरूलाई पैसा पु¥याएर । नेताहरू खुसी भएर उसलाई वरदान दियो कि, भूमिसुधारमा त्यत्रो भ्रष्टाचार भयो अब गृहसचिव बनाउँ । त्यतिमात्रै होइन सेक्युरिटी प्रिन्टिङ प्रेस किनियो तर अहिले पनि अन्तः शूल्कको स्टीकर बाहिर छापिन्छ । निर्वाचन आयोगले ब्यालेट पेपर प्रिन्टिङ प्रेस किन्यो । ब्यालेट बाहिर छपाउँछ । यो सबै कमिसनको खेल हो । नेपालको कुनै पनि कानुन पास भएको छैन टेलिफोन इन्टरसेप्सन गर्ने भन्ने, तर अहिले जानुस् एनआइडीको भ¥याङमुनि राखिएको छ मेसिन । ८ करोडको मेसिनलाई २६ करोड पेमेन्ट दिइएको छ ।
’क्यापिटल फ्लाइट’ भएको छ । ठूला भ्रष्टाचारमा अर्बौंको खेल छ । त्यो भ्रष्टाचारको पैसा मैले ट्र्याक गरेर बसेको छु । १०–१२ जना बिचौलिया छन् । उनीहरूलाई कानुनको दायरामा ल्याउनुपर्छ ।
संघाई ग्रुप, विशाल ग्रुप, चौधरी ग्रुप यिनीहरूले नेपालमा कर नतिर्ने । जस्तो, अस्ति घोराही सिमेन्टको घटना भयो । संघाइ ग्रुप र विशाल ग्रुप सम्धी हुन् । मिलेमतोमा भयो । आइपीओ निकले र त्यसको भाउ बढाएर आफू त्यहाँबाट निस्किए । म सोध्न चाहन्छु कि, व्यापार र राजनीतिमा मेल हुन्छ ? यो १५ वर्षमा के भयो भने जम्मै जग्गा दलाल, गिट्टी क्रसर, डिस्टिलरीवालालाई पैसा लिएर नेताहरूले उसलाई नेता बनाइदिए । राजनीति र धर्म मिसाउनु हुँदैन, राजनीति र व्यापार मिसाउनु हुँदैन त्यस्तै बैंक र व्यवसाय मिसाउनु हुँदैन । कहाँ–कहाँ बेथिति छ भने, जतिपनि भ्रष्ट व्यापारी छन् उनीहरूका बैंक छन् । तपाईं सबै बैंकको पछाडि जानुस् पर्दा पछाडि के भइरहेको छ ? यो सबै अध्ययनको विषय हो । म त्यत्तिकै बोलेको होइन ।
त्यसकारण मैले के भन्न खोजेको के हो भने बैंक र व्यवसायी अलगअलग हुनुपर्छ । त्यहाँबाट हाम्रो अर्थतन्त्र डुबेको छ । दोस्रो कुरा नेता र व्यवसायी अलग हुनुपर्छ । नेता राष्ट्र र जनताप्रति समर्पित हुनुपर्छ । सदाचार हुनुपर्छ । उसले अर्बपति बन्ने बाटोमा जानु हुँदैन ।
नेताको भ्रष्टाचारको कुरा गर्नुभयो । हालै पूर्वगृहसचिव नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका छन् । उनलाई गृहसचिव बनाउने क्रममा खेल भएको थियो भन्नुभयो । राजनीतिक तहले यो कसरी गरिरहेको छ ?
सबै भ्रष्टाचारको मूल जरो भनेको राजनीतिक तह हो । नीतिगत भ्रष्टाचार कस्तो हुन्छ भने सबै निर्णयमा राजनीतिक नेतृत्वले हस्ताक्षर नगर्ने । तत्कालीन गृहमन्त्रीको स्वीकृतिबिना गृहसचिवले करोडौंको भ्रष्टाचार गर्न मिल्छ ? । यहाँ हरेक केसमा के देखिएको छ भने राजनीतिक तहको मान्छे चोखिने कर्मचारी फस्ने । त्यो पनि साना कर्मचारीलाई फसाइदिने । मेरो भनाइ के हो भने, जो मूल छ त्यसलाई समात्नुपर्छ । भ्रष्टाचार अन्त्य नभईकन यो देशमा सुशासन कायम हुन सक्दैन । भ्रष्टाचार अन्त्य नभईकन विदेशीको हस्तक्षेप घट्दैन । विदेशीहरूले हाम्रा नेपाली नेतालाई भ्रष्ट बनाइदिन्छन् । मेरो एक लाइनको एजेन्डा छ– नेपालको लोकतन्त्र नेपालीको हातमा हुनुपर्छ । नेपालको अर्थतन्त्र नेपालीको हातमा हुनुपर्छ ।
जस्तो कि, आरएसएस (राष्ट्रिय स्वयंसेवक संघ– भारतको हिन्दुवादी संगठन) को ७–८ वर्षको गतिविधि दंगा गराउनतर्फ केन्द्रित छ । नेपालमा त कहिले पनि दंगा त हुँदैन । अहिले भर्खरै रामनवमी घटना जनकपुरमा गरायो । म मधेसमा जन्मे हुर्केको मान्छे त्यहाँ कहिल्यै पनि भगवा संस्कृति होइन । त्यहाँ एउटै कलरको पहेँलेको वस्त्र लगाएको जुलुस निस्किँदैन । त्यहाँ कहिल्यै पनि रामनवमीमा बाहेक जुलुस निस्किएको थिएन । हनुमान जयन्तीमा जुलुस निस्किन्थ्यो । यो के हो भने सन् २०२४ को भारतको चुनावलाई उत्तरप्रदेश (यूपी), बिहारमा प्रभावित गर्नका लागि नेपालमा दंगा गराउन खोजिँदैछ । यो त हामीलाई स्वीकार्य हुँदैन ।
आरएसएसको दबाबमा हरेक पार्टीले राम्रो नेताको चुनावको टिकट काट्ने काम भएको छ । जस्तो मेरै टिकट काटियो । दीपकप्रकाश भट्टको टिकट काटियो । मिनेन्द्र रिजालको टिकट काटियो । अर्णव गोश्वामीसँग उनले टिभीमा डिबेट गरेको कारणले लिपुलेक लिम्पियाधुरा सीमा विवादका कारण मिनेन्द्र रिजालको टिकट काटियो ।
हामी हरेक मुलुकसँग दुईपक्षीय सम्बन्ध राम्रो राख्न चाहन्छौं तर आन्तरिक राजनीतिमा हस्तक्षेप चाहँदैनौं । दूतावासले प्रधानमन्त्रीलाई भन्छ कि, फलानोलाई मन्त्री नबनाउ । फलानोलाई मन्त्री नबनाउ । चन्दा चौधरीको कांग्रेसमा के थियो लगानी ? कति दिन क्रियाशील थियो ? आज टीका लगायो ’पम्फादेवी’ले भोलिपल्ट उसलाई बनायो । ’पम्फादेवी’को कम्युनिटी के हो भने पहिले पनि पम्फादेवी जुद्धशमशेरकै सन्तान थियो, राणा नै थियो, अहिलेको ’पम्फादेवी’ पनि जुद्धशमशेरकै सन्तान हो ।
’पम्फादेवी’ भनेर कसलाई इंगित गर्नुभएको हो ?
त्यो बेला राजाको श्रीमती पम्फादेवी भ्रष्टाचारमा थिइन् । त्यो बेला त बजेटको साइज पनि सानो थियो । अहिले त बजेटको साइज ठूलो छ । अहिले नेपालका ठूला भ्रष्टाचारमा ’पम्फादेवी’को संलग्नता छ । एउटा कुरा ’अथोरिटी विदाउट अकाउन्टिबिलिटी’ साह्रै डेन्जर हुन्छ । के अथोरिटीका आधारमा डीआईजीको सरुवा पोस्टिङका लागि लाइन लाग्ने ? उसको भाइले पनि भ्रष्टाचारमा लाग्ने, छोराले पनि गर्ने ? यो कुरा हामीलाई स्वीकार हुँदैन । यो पब्लिक डिबेटको विषय बन्नुपर्छ । जनताको बीचमा यो कुरा लिएर जान्छौं । ठीक छ अहिले उहाँले आफ्नो कुरा राख्नुहोस् । म पनि आफ्नो कुरा राख्छु । उहाँले भन्नु होस् कि, यो सापकोटा थरको मान्छेसँग के लेनदेन छ ? उहाँले भन्नुहोस् कि, मन्त्रालय जाने भट्ट थरको मान्छेसँग के लिनुदिनु छ ?
तपाईंले सापकोटा र भट्ट थरको नाम लिनुभयो यी को हुन् ?
भट्ट ’पम्फादेवी’को नजिकका मान्छे हुन् । सापकोटा उनको भाइको नजिकका हुन् ।
यिनीहरूको नेक्सस र सम्बन्धबाट के–के काम भएका छन् ?
यो नेक्ससबाट स्टक एक्सचेन्ज, प्रिन्टिङ प्रेस, गिरीबन्धु टि–स्टेटको जग्गा प्लटिङ गरेर बेच्ने, विभिन्न नियुक्ति दिलाउने काम भइरहेको छ । म देखिरहेको छु कि, सचिवहरु राम्रो मन्त्रालय पाउनका लागि बिचौलियाको घर धाइरहेका छन् । पुलिसहरु पनि धाइरहेका छन् । यो दौडले देश कहाँ पुग्यो ? आजको दिनमा देश बिचौलियाले क्याप्चर गरेको छ ।
तपाईंले कांग्रेसका नेताहरुप्रति इंगित गर्दै यो कुरा गरिराख्नुभएको छ । अहिले कांग्रेस सरकारको साझेदार हो । तर प्रधानमन्त्री पुष्पकमल दाहाल हुनुहुन्छ । उहाँलाई पनि यो नेक्ससले प्रभाव पारेको छ ?
३२ सिटको प्रधानमन्त्रीको बाध्यता के हुन्छ तपाईं बुझिदिनु न ! प्रचण्डले हामीलाई प्रतिबद्धता जनाउनु भएको छ कि, भ्रष्टचारको फाइल दिनुस् म कारबाही गर्छु । त्यसैले यसपटक हामी उहाँको टेस्ट गर्न गइरहेका छौं । सबै भ्रष्टाचारको फाइल अध्ययन गरेर हामी उहाँलाई बुझाउँछौं । कारबाही गर्नुभएन भने सबै डकुमेन्ट मिडियाको हात हातमा दिन्छु अनि संसद्मा पनि कुरा उठाउँछु । ठूला नीतिगत भ्रष्टाचार अब कुनै हालतमा ओझेल पर्न दिइदैँन । राजनीतिक, नीतिगत भष्टाचार छ, कानुन बनाएर पनि भ्रष्टाचार भइरहेको छ । जस्तो एनसेललाई किन म्याद थप्नुपर्यो ? पैसा खाएर दोषी उम्काउने जुन तरिका छ त्यो स्वीकार्य हुन्न । जतिसुकै अर्बपति होस् न त्यसले ट्याक्स तिर्नुपर्दैन ? के सम्पत्ति शुद्धिकरण र राजस्व अनुसन्धान नेताहरूका बिचौलियाको पैसा उठाउने थलो हो ?
अहिले नेपाललाई सम्पत्ति शुद्धिकरणमा राम्रो कानुनी कारबाही भइरहेको छैन भन्ने विदेशमा छ । ४० जनाको विस्तृत अनुसन्धान भएको फाइल शेरबहादुरजीले रोकिदिनुभयो । ४० जनामा उहाँको मान्छेको पनि नाम थियो । यो नाम अख्तियारमा पनि पुगेको छ । अहिले सबै संस्थाहरू समाप्त गर्ने काम भइरहेको छ । अख्तियार, अदालत कमजोर बनाइएको छ । हाम्रा संस्थाहरु कमजोर बनाइएको छ । विश्वास टुट्दै गइरहेको छ चाहे त्रिभुवन विश्वविद्यालय होस् वा निर्वाचन आयोग होस् ।
दलीय भागबन्डाबाट नियुक्त हुनुहुन्न । जो योग्य र क्षमतावान् छ त्यस्ताको नियुक्ति हुनुपर्छ । नेपाली कम्पिटेन्ट मान्छेको नियुक्ति हुनुपर्छ । ठूला ठूला भ्रष्टाचार बन्द हुनुपर्छ ।
भ्रष्टाचार बन्द हुनुप¥यो भन्ने कुरा त वर्षौंदेखि भनिँदै आएको छ । तर त्यो फाइल खोल्ने तत्परता त कसैको छैन नि ?
अहिले आधा मान्छेलाई बचाइएको छ । मैले अहिलेकै केस (नक्कली शरणार्थी बनाएर ठगी गर्ने प्रकरण) मा पनि प्रधानमन्त्रीलाई भेटेर कसैलाई बचाउने काम नगर्नुहोस् भनेको छु । भुटानी शरणार्थीको केसमा अर्बौं पैसा लिएको छ । त्यसमा संलग्न सबै राजनीतिक नेतालाई दायरा ल्याउनुप¥यो । खाली कर्मचारीलाई मात्र ल्याउने ? ठूला भ्रष्टाचार नेताले गर्ने उसलाई उम्काइदिने गरिन्छ । साना कर्मचारीलाई मात्र बलिको बोको बनाउने कुरा स्वीकार्य छैन । जस्तो सुडान घोटालामा प्रहरी महानिरिक्षकहरू जेल गए, कुनै गृहमन्त्री जेल जानुप¥यो ?
अहिलेको नक्कली शरणार्थी प्रकरणमा चाहिँ के हुन्छ ?
यो प्रकरणमा पनि जो–जो गृहसचिव समातिन्छन् त्यो बेलाका गृहमन्त्रीलाई पनि सोधपुछ, अनुसन्धान गर्नुपर्छ । गृहमन्त्रीको संलग्नताबिना यत्रो काम हुन्छ ? कुन कर्मचारी यस्ता छन् कि, मन्त्रीको निर्देशनबिना चलुन् ? मन्त्रीको निर्देशनबिना एउटा सिपाही त सरुवा हुन्न, अनि यत्रो अर्बौंको भ्रष्टाचार उसको संलग्नताबिना कसरी हुन्छ ?
यो प्रकरणमा जोडिनसक्ने पूर्वगृहमन्त्रीहरु त अहिले ठूला पार्टी (कांग्रेस– एमाले)का नेताहरु हुन् । उनीहरुलाई अनुसन्धान र कारबाही गर्नसक्ने ल्याकत प्रधानमन्त्रीसँग छ त ?
ल्याकत छैन भने उहाँको सरकार रहँदैन । आइतबार संसद् खुल्दैछ त्यहाँ राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जनमत पार्टी हामी सबै मिलेर यो कुरा उठाउँदैछौं ।
प्रधानमन्त्रीले पूर्वगृहमन्त्रीहरुलाई अनुसन्धानको दायरामा ल्याउन सक्नुहोला त ?
केही मान्छेहरुले उहाँलाई भेटेर राजनीतिक तहका मान्छेहरुलाई छोडिदिनुहोस् भन्ने आग्रह गरेका छन् रे ! तर कानुनको बाटो कसैले छेक्नुहुन्न । कानुनलाई प्रभावित गर्नुहुन्न । यहाँ ’रुल अफ ल’ होइन ’रुल बाइ ल’ जस्तो भएको छ । अदालत कस्तो भएको छ भने भ्रष्टाचारको मुद्दा छुनै चाहदैन । नेताको मुद्दा आएपछि आलटाल गर्छन् । यदी न्यायाधीशले चाँडो फैसला गर्न सक्दैनन् भने त्यस्ता न्यायाधीशले छोड्नुपर्छ । मेरै क्षेत्रको एउटा वन फडानीको मुद्दा २२ वर्षदेखि फैसला भएको छैन । किनकी नेताहरूको फोन जान्छ । सर्वोच्चका न्यायाधीशहरुले भ्रष्टाचारको मुद्दा एक वर्षमा टुंग्याएनन् भने कारबाही गर्नुपर्छ । साना मुद्दा फैसला हुन्छन्, ठूला अड्काइन्छ । ललिता निवासको जग्गाको फैसला किन अड्काइरहेको छ ? यहाँ स्वतन्त्र न्यायापालिका छ भन्ने देखिनुप¥यो । तर शेरबहादुर देउवाले न्यायापालिका स्वतन्त्र रहनै दिएनन् । पहिले पनि सुशीला कार्कीलाई महाभियोग लगाइदिए । जसले गर्न खोज्यो त्यसलाई महाभियोग लगाइदिए । अब तर्साएर चल्दैन ।
२०६३ पछि बिचौलिया ग्रुप निर्माण भएको छ । करको दर परिवर्तन गर्दा २ खर्ब राजस्व उठ्न सकेन । सीसीटिभी धमिलो देखिँदा नेपालको २ खर्ब उड्यो । यहाँ भ्रष्टाचारका विषयमा ५ वर्षको क्याप लगाउन खोजिँदैछ । भ्रष्टाचारको हदम्याद हुन्छ ?
कूटनीतिक मामिलामा चासो राख्नुहुन्छ । पहिले राजनीतिक भविष्यवाणी गर्नुहुन्थ्यो । अघि आरएसएसको प्रसंग पनि उठाउनुभयो । अहिले भारतले नेपालमा के चाहिरहेको छ ?
अहिले भारतको सरकार आरएसएसको छायामा छ । नेपालको भारतीय राजदूतावास पनि आरएसएसको छायामा छ । कर्मचारीहरुको कुनै भूमिका छैन । आरएसएसले जे भन्यो त्यही गर्छ । आरएसएसको एउटै एजेण्डा छ– नेपाललाई हिन्दुराष्ट्र घोषणा गराउने । नेपाल देखाएर बिजेपीले भारतमा १० वर्ष शासन सञ्चालन गर्न खोजेको छ । हिन्दुराष्ट्र चाहेको हो भने भारतले पहिले आफ्नै देशलाई बनाओस् न ! नेपाल देखाएर भारतमा शासन गर्ने ?
मेरो भनाई के हो भने धर्म र राजनीतिक जोड्न हुन्न । तर यहाँ हाम्रैमा के भयो भने कांग्रेसका एक नेता पूर्वगृहमन्त्री १५ दिन एउटा ढुंगा बोकेर ट्रकको पछाडि जानुभयो,किनकी उहाँलाई मालिकले आदेश दिएका छन् – यस्तो गर्नुभयो भने राजनीति राम्रो हुन्छ । यो त मिल्दैन नि ! सांसदको कर्तव्य एउटा ढुंगाको पछाडि जाने हो ? सन् २०२४ को मेमा भारतको लोकसभा निर्वाचन हुँदैछ। त्यो निर्वाचन भन्दा पहिले नेपालको तराई मधेस क्षेत्रमा त्यहाँ दंगा गराउन खोज्दैछ । हामी नेपालीहरु सबै धर्म मान्नेहरू मिलेर बसेका छन् । तर यस्तो गराउने काम शेरबहादुर देउवाले गर्दैछन् । विजय चौथाइवाले र तत्कालिन प्रधानमन्त्रीकी श्रीमतिबीचमा जुन राखी बाँध्ने काम भयो त्यो दिनदेखि आरएसएसको मनोबल बढेको छ । अस्ती भर्खर ’मानसखण्ड’ सम्मेलन भयो । हामी कुनै पनि हालतमा नेपालको लोकतन्त्र, गणतन्त्रमा आँच आउन दिन्नौं । युपीका मुख्यमन्त्री हिन्दु राष्ट्र नहुँदा नेपाल चिनिँदैन भन्छन् । उनले भन्दैमा चिनिने र नचिनिने हुन्छ र ? नेपाल आफ्नो सार्वभौम मुलुक हो नि ! हाम्रो भारत सरकारसँग कुरा हुनुपर्छ । ’ननस्टेट एक्टर’सँग कुरा हुनुहुन्न।
आरएसएसलाई यहाँ हुर्किन दिने र पम्प गर्ने चाहिँ को छ त ?
दलका नेताहरु छन् । सबैभन्दा बढी कांग्रेसका छन् ।
नेपाल सरकारसँगको उनीहरूको अपेक्षा चाहिँ के हो ? भारतले के फाइदा फाइदा लिन खोजिरहेको छ ?
उनीहरूको अपेक्षा भनेको हरेक प्रधानमन्त्रीले हिन्दुराष्ट्र घोषणा गर्न सघाइदियोस् भन्ने नै हो । जो कुनै पनि प्रधानमन्त्रीले गर्न सक्दैन । न संसद्को दुई तिहाईबाट गर्न सक्छ, न बाहिर त्यसरी बोल्न सक्छ । फेरि बन्द कोठामा सबैले त्यही प्रतिबद्धता जनाइरहेका छन् । २०७२ सालमा संविधान जारी हुने बेलामा पनि त्यही कुरा हो । त्यतिबेलै भ्रमणमा गएका सबै प्रधानमन्त्रीहरू, चाहे त्यो पुष्पकमल दाहाल होस्, चाहे त्यो माधवकुमार नेपाल होस् वा चाहे सुशील कोइराला होस् सबैले गएर हामी संविधानमा हिन्दु सनातन धर्म लेखिदिन्छौं भनेका थिए । तर संविधानमा त्यो नभएपछि दौडिएर आए । त्यतिबेला मधेशमा त्यति ठूलो आन्दोलन भयो भारतको एउटा विज्ञप्ति आयो र ? त्यसैले यो मधेसको मुद्दै होइन । यो हिन्दु धर्मको मुद्दा हो । त्यसैले अहिले पनि यहाँ खेलहरू भइरहेका छन् मधेशको अस्तित्व समाप्त गरिदिने । आजको दिनमा महन्थ ठाकुर, राजेन्द्र महत्तो सबैको राजनीति सकिएन ? यिनीहरुको राजनीति कसले सकाइदिएको हो र ? त्यसकारण हामी न मधेश सक्न दिन्छौं, न देश सक्न दिन्छौं ।
मेरो त अहिले पनि एउटै अभियान छ, लोकतन्त्र बचाउनुप¥यो, र अर्थतन्त्र बचाउनुप¥यो । अर्थतन्त्र हाम्रो यति कमजोर किन भयो ? यसको पनि कारण छ । यहाँ ठूल्ठूला बिजनेस हाउसहरूले नै देशको अर्थतन्त्रमा प्रहार गरिरहेका छन् । करछली गरेका छन् । एक–एक गरेर हामी त्यसको लिष्ट बनाउँदैछौं । तिनलाई कारबाहीको दायरामा ल्याउनुपर्छ । जो मन्त्रीले उनीहरुलाई बचाउँछ, हामी उसैलाई कारबाहीको दायरामा ल्याउँछौं । पहिलेका दिन गए अब । यहाँ कसैले कसैको दुई लाख रुपैयाँ बुझेर करोडौंको कर मिनाहा गरिदिने कुरा हुँदैन ।
यो सबै कुराको पछाडि विभिन्न कारणहरु छन् । अहिले एउटै मान्छे पटक पटक प्रधानमन्त्री हुने व्यवस्था छ । कसैले रोकटोक गर्दैन । पाँचपटक, छपटक एउटै मान्छे प्रधानमन्त्री हुन पाउनुहुँदैन । हामी संविधान संशोधनको प्रस्ताव ल्याउँछौं, अब संविधानमै व्यवस्था गर्नुपर्छ कि एउटै व्यक्ति दुई पटकभन्दा धेरै प्रधानमन्त्री बन्न पाउँदैन । तीनपटक भन्दा बढी मन्त्री पाउँदैन । जो दोहोरिएर मन्त्री, प्रधानमन्त्री बन्छ, त्यो भ्रष्टाचार गर्नका लागि हो । त्यसरी देशलाई केही पनि प्राप्त हुँदैन । यहाँ सात चोटीसम्म प्रधानमन्त्री बन्छ भनिदिने ज्योतिषी छन्, त्यो पनि भ्रष्टाचार गर्नकालागि ।
तपाईं त यी सबै कुराहरू उठाए पनि भनेका कुराहरू गर्नका लागि त बहुमत चाहियो नि ?
अहिलेको संसद्मा भ्रष्टाचारविरोधी युवाहरूको समूह बनिसकेको छ । हामी संसद् र बाहिर पनि छलफलमा बसिसकेका छौं । हामी यो विषय उठाउँछौं । यसमा धेरै सांसदहरूको आवाज उस्तै हुन्छ ।
को–को छन् ? सत्तारुढ दलबाटै हो कि अन्य दलबाट ?
सत्तारुढ दलबाट पनि छन्, अन्य दलबाट पनि छन् । तर अहिले यो भ्रष्टाचारको विरुद्धमा बोल्नका लागि धेरै सांसदहरू छन् । बाहिर बोल्न नसक्नेहरू मनमनै साथमा छन् । जो सरकारमा छैनन्, उनीहरू पनि हाम्रो साथमा छन् । अहिले सरकारमा समर्थन भएपनि सरकारबाहिर रहेको दल राष्ट्रिय स्वतन्त्र पार्टी छ, राष्ट्रिय प्रजातन्त्र पार्टी छ । उनीहरूले उठाउँछन् । कांग्रेस एमालेकै सांसदहरू पनि यो विषय उठाउन तयार छन् । यो विषयमा तीन करोड जनताको ब्याकअप छ, कुनै दल वा नेता भन्ने कुरै छैन । भ्रष्टाचारको मुद्दामा तीन करोड जनताको ब्याकअप छ । तपाईं अन्ना हजारेलाई हेर्नुहोस्, उहाँ त सांसद पनि होइन, उहाँको भ्रष्टाचार आन्दोलनले भारतमा त्यति ठूलो परिवर्तन भयो, आज त्यही भ्रष्टाचारविरुद्धको आन्दोलनबाट केजरीवाल दिल्लीको मुख्यमन्त्री भएका छन् ।
सांसद भइसकेपछि सांसदको रुपमा मात्रै बोल्ने भन्दा पनि सरकारमा गएर काम गर्ने इच्छा होला नि तपाईंलाई दलहरूले सरकारमा किन लगेनन् ?
सरकारमा जानेबारे मैले धेरै पहिले नै भनिसकेको थिएँ कि, यो मेरो रोजाइ होइन । म पहिले पावर पोलिटिक्समा थिएँ, अहिले म जनताको पोलिटिक्समा छु । मेरो प्राथमिकता सरकार होइन, देश र जनता हो । मेरो प्राथमिकता भ्रष्टाचारको न्यूनीकरण हो, विदेशी हस्तक्षेपको अन्त्य हो । दलका नेताहरूले विदेशीहरूलाई किन भेट्ने ? के काम छ ? हाम्रो राष्ट्रपति, प्रधानमन्त्री वा जो कोही भन्नुहोस् । विजय चौथाइवालेलाई पनि भेटिराखेको हुन्छ, ऊ को हो ? किन भेटेको ? यसमा जवाफदेहिता, पारदर्शिता भन्ने हुने कि नहुने ?
मैले त अहिले राष्ट्रपतिको सेवा सुविधाबारे पनि कुरा उठाइरहेको छु । राष्ट्रपतिले त्यत्रो जना सल्लाहकार किन राखेको ? के काम छ ? राष्ट्रपतिलाई आर्थिक सल्लाहकार किन चाहियो ? के राष्ट्रपतिले यो मुलुकको बजेट निर्माण गर्ने हो र ? नभए किन चाहियो ? राष्ट्रपतिको काम कानून निर्माण गर्ने हो र कानूनी सल्लाहकार राख्नको लागि ? राजनीतिक सल्लाहकार किन चाहियो ? त्यस्तो विज्ञ चाहिन्छ भने अतिरिक्त खर्च नहुने गरी सरकारी संयन्त्रबाटै काजमा कर्मचारीहरू लगेर उपयोग गरेपनि हुन्छ नि ! राज्यलाई भार किन थप्ने ? राष्ट्रपतिले समानान्तर शासन गर्ने होइन । बालुवाटार र सिंहदरबारमा बिचौलियाको बिगबिगी हुनुभएन ।
मैले त संसद्मै भनेको छु, कि प्रधानमन्त्री, राष्ट्रपति, प्रधानन्यायाधीश वा जतिपनि सरकारी जिम्मेवार पदाधिकारीहरू छन्, उनीहरूको घरको गेटमै सीसीटिभी राखौं, र त्यसको मनिटर टुाडिखेलमा राखौं । दिनका दिन कसले किन भेटिरहेको छ ? त्यसको दिनका दिन बुलेटिन निकाल्नुस्, त्यसपछि सबै थाहा भइहाल्छ । हाम्रा मन्त्री, प्रधानमन्त्रीलाई क–कसले किन भेट्छन् ? त्यो थाहा पायो भने तपाईंलाई रुन आउँछ ।
तपाईं त पहिले राजनीतिक भविष्यवाणी पनि गर्नुहुन्थ्यो । अहिलेको संसद्, सत्ता र सरकार अबको पाँच वर्ष कसरी अगाडि बढ्ला ?
अहिलेको सरकार जति ठूलो गठबन्धन भएपनि नेपाली जनताको इच्छा र आकांक्षामा खरो उत्रिएन भने टिक्दैन । किनभने विदेशीले मात्रै यहाँ सरकार टिकाउन सक्दैन । किनकी जनतामा उकुसमुकुस छ, वितृष्णा छ । मैले त संसद्मै भनिसकेको छु, अब केही महिनापछिसम्म पनि यस्तै रहिरहृयो भने नेताहरूमाथि जनताको ढुंगामुढा हुन्छ, एकपटक त अस्ति पनि भइसक्यो । नेकपा एमालेको अध्यक्षमाथि ढुंगामुढा भयो, दाङमा सञ्चारमन्त्रीमाथि त्यस्तै प्रयास भयो, यो त्यतिकै भएको होइन । नेताहरू जो पदमा बसेका छन् । भ्रष्टाचार गरेका छन् उनीहरूलाई जनताले निगरानी गर्छन् । हामीले जनताको देश बनाउन सकेनौं । कार्यकर्ताको भावना बुझ्न सकेनौं । खाली दलीय भागबण्डा गर्ने र तलदेखि माथिसम्म भ्रष्टाचार गर्ने कुरा मात्रै मौलाएको छ । हामी कहाँ भ्रष्टाचार पनि दुई खालको छ । ठूला भ्रष्टाचार छ, त्यो सर्वदलीय भ्रष्टाचार छ । त्यसमा सबै दल मिलेका छन् । साना भ्रष्टाचारहरू दलीय भ्रष्टाचार छन् । दलबाट मन्त्री बन्ने, करोडौं लुट्ने । दलबाट मुख्यमन्त्री बन्ने करोडौं लुट्ने । यस्तो दलीय र सर्वदलीय भ्रष्टाचारहरूको न्यूनिकरण मात्रै होइन, अन्त्य हुनुपर्छ । अर्को जनताको सास्ती अन्त्य हुनुपर्छ । आज जनताको पकेटमा पैसा छैन । सार्वजनिक शिक्षा, स्वास्थ्य बिग्रिएको छ ।
गिरिराजमणि पोखरेल शिक्षामन्त्री भएको बेला उहाँले जहिल्यै पनि भीसीलाई बोलाएर भन्नुहुन्थ्यो, कि तपाईंको विश्वविद्यालयमा मेरो पार्टीको संगठन बनाइदिनुहोस्, संगठन खोल्न दिनुहोस्, नत्र मेरो पार्टी कसरी चल्छ ? कर्मचारीलाई राजनीति, विद्यार्थीलाई राजनीति, सबैलाई राजनीति । त्रिभुवन विश्वविद्यालय त पहिल्यै ध्वस्त भएको हो, अहिले अरुलाई पनि ध्वस्त बनाइयो । कर्मचारी भर्नामा प्रतिस्पर्धा छैन । सोर्सफोर्समा कार्यकर्तालाई जागिर लगायो, पछि त्यतिकै स्थायी गरिदियो । न दक्षता परीक्षण, न क्षमताको मापन । दलीय कार्यकर्तालाई भर्ती गरिएको छ । म शिक्षामन्त्री भएको भए अहिलेको भन्दा सय करोड बढी बजेट छुट्याउँथे । तर विश्वका सर्वोत्कृष्ट प्रोफेसरहरूलाई वर्षको करोड रुपैयाँ दिएर सय जना प्रोफेसरलाई नेपाल बोलाउँथे जस्तो सिंगापुरले, चीनले गरेको छ । किनभने जबसम्म शिक्षाको विकास हुँदैन, तबसम्म देशको विकास नै हुँदैन । यो सबै राजनीतिक दलहरूले बिगारेको हो, शिक्षा यस्तो छ, स्वास्थ्य उस्तै, पूर्वाधारको क्षेत्र उस्तै । सबै क्षेत्र भताभुंग बनाइदिएको छ । कर्मचारी युनियन के–को लागि चाहियो ? सरकारी तलब खाएर कुनै पार्टीको राजनीति गर्न पाइँदैन । सरकारी शिक्षकहरू सबै पार्टीको झोले भइसकेका छन् । त्यसकारण यस्ता कुराहरु हटाउनुप¥यो ।
तपाईंलाई अर्को कुरा भनुँ, पहिले मान्छेहरू नेपालमै बसेर भ्रष्टाचार गर्थे तर अहिले विदेशमा बसेर भ्रष्टाचार गर्न थालेका छन् । यहाँ हतियार हुन्छ, अफिस उता सिंगापुरमा छ । त्यहीबाट डिल हुन्छ । उनीहरू सिंगापुर, दुबई, बैंकक बसेर नेपालको कर्मचारीलाई, नेतालाई सिकाउँछ, र भन्छ, तपाईंको भ्रष्टाचारको पैसा पनि विदेशमा ट्रान्सफर गराइदिन्छु, तपाईंले हुण्डी गरिराख्नै पर्दैन । यो भ्रष्टाचार अब देशका लागि डरलाग्दो छ । म एक–एक मान्छेको अध्ययन गर्छु, र सार्वजनिक गर्छु । कानून छ नि नेपालमा । कुन नियमले हजारौं मान्छेहरूले दुबईमा घर बनाइरहेको छ ? विदेशमा घर किन्न पाउने कानून छ ? त्यसकारण सबै समग्र कुराको अध्ययन गर्दैछु । मेरो कोशिस लोकतन्त्रको शासन ल्याउनका लागि हो । जनताको शासनको नाममा लुट्ने काम बन्द हुनुपर्छ ।
अहिले सरकार बन्ने क्रममै छ । चार महिना भइसक्यो, तर मन्त्रिपरिषद्ले पूर्णता पाएको छैन । राजनीति झन् धेरै अस्थिर हुने र सत्ताको चलखेल हुने देखिन्छ । नयाँ पार्टीको उदयले पूराना पार्टीहरूमा फ्रस्टेसन मौलाएको देखिन्छ । यी सबै घटनाक्रमलाई तपाईंले कसरी मुल्यांकन गरिरहनुभएको छ ?
यो मैले पनि एकदमै सोचिरहेको विषय हो । मैले पहिले पनि भनेको थिएँ, कांग्रेस यत्तिकै सच्चिदैन, त्यसका लागि कांग्रेस फुट्नुपर्छ । जस्तो वीपी कोइरालाले नै कांग्रेस फुटाएर बनाएका हुन् । वीपी र मातृका त दाजुभाई थिए । यही शेरबहादुर देउवाले पनि पार्टी फुटाएका हुन् । त्यसैले अहिले पनि यदि कांग्रेसलाई बचाउने हो भने फुटाउनुपर्छ । अहिलेको नेतृत्वले कांग्रेसजस्तो पूरानो पार्टीलाई सुधारको प्रयास गर्न सक्दैन । जनताले यो नेतृत्वलाई मान्दैन । यदि गगन, विश्वप्रकाश वा प्रदीप पौडेल वा शेखर कोइराला कै कुरा गर्ने हो भने कुनै होटलमा, पार्टी प्यालेसमा छलफल गरेर पार्टी सुध्रिदैँन । जनताको मनमा कांग्रेस मरिसक्यो । पार्टीको शक्ति दुरुपयोग गरेर नेताले आफ्नै श्रीमतीलाई पटक पटक सांसद बनाउने, त्यो के कारणले ? के योगदान छ ? त्यसैले त्यो भएन । त्यसैले म त यो समानुपातिक निर्वाचन प्रणालीको पनि विरोधमा छु । पैसा उठाउने, श्रीमती, ग्रलफ्रेण्ड, विदेशीको मान्छे, को–को ल्याउनकालागि समानुपातिक निर्वाचन प्रणाली ल्याएको होइन नि ? समानुपातिक निर्वाचन प्रणाली हटाइदिने हो भने मात्रै देशमा विदेशीको हस्तक्षेप घट्छ । किनभने विदेशीले जनतालाई प्रभावित गर्न सक्दैन, विदेशले नेतालाई प्रभावित पार्ने हो । तपाईंले उपनिर्वाचनमा देख्नुभयो त, ठूल्ठूला दल एक ठाउँमा भएपनि भोट त रवि लामिछानेकै धेरै आयो त । दल मिलेर हुन्छ ? नेतामात्रै मिलेर त हुँदैन नि ? अब जनता चेतनशील भइसके, जनताले आफैं निर्णय गर्न सक्छ अब ।
अब नेपालको इलेक्टोरल पोलिटिकल ल्याण्डस्केप चेन्ज हुँदैछ । आज दुवई, कतार, मलेसिया, अष्ट्रेलिया, अमेरिका लगायत विदेशमा बस्ने जो नेपाली दाजुभाईहरू छन्, उसको हात हातमा मोबाइल छ, त्यहाँबाट उनीहरूले निर्णय गर्छन् । तपाईंले विगतको १५ वर्ष देशमा बस्न दिनुभएन, अब उनीहरूले तपाईंहरूलाई देशमा बस्न दिदैनन् । पुराना नेताहरूले, पुराना पार्टीहरूले अब चुनाव जित्दैनन् । चुनाव नजितेपछि घरमै बस्नुपर्यो । जनताको प्रतिनिधि भएर अब जनतामाथि शासन गर्न पाउँदैनन् । विदेशमा बस्नेले रेमिट्यान्समात्रै पठाएको छैन, उसलाई देशको चिन्ता छ । देश नबनेको चिन्ता, देशमा बढेको बेथितिको चिन्ता उनीहरूलाई छ । अहिले उनीहरूको हस्तक्षेपको परिणाम नै राष्ट्रिय स्वतन्त्र पार्टीको उदय हो । रास्वपाका कार्यकर्ता छैन, सिट छैन, तर जनता छ । यो भारतको आम आदमी पार्टीको जस्तै हो, त्यहाँ पनि उनीहरूका १० जना कार्यकर्ता थिएनन् । तर मुख्यमन्त्री जिते । अब जनताको मुद्दालाई केन्द्रमा राख्नुप¥यो । देशमा सुशासन चाहियो, भ्रष्टाचारको अन्त्य हुनुप¥यो । विदेशीको हस्तक्षेप अन्त्य हुनुप¥यो ।साभार कान्तिपुर