Logo

फाइल तस्बिर

२३ वैशाख,सेढवा । पर्साको ग्रामीण भेगका किसान अहिले मकैबालीतर्फ आर्कषित भएका छन् । पर्साको ठोरी, जिराभवानी र पटेर्वासुगौली गाँउपालिकामा विगतको तुलनामा अहिले मकैबालीतर्फ किसान आर्कषित भएका हुन् ।

ठोरी गाँउपालिकाका कृषि शाखा प्रमुख चन्दन भैया थारुले गाउँपालिका क्षेत्रमा करिब चार सय हेक्टर जग्गामा मकैबालीको खेती गरिएको बताउनुभयो । किसानलाई पालिकाबाट आठ क्विन्टल हाईब्रिड जातको उन्नत बिउ ५० प्रतिशत अनुदानमा वितरण गरिएको उहाँले जानकारी दिनुभयो । यस बाहेक किसान आफैँले भारतिय तथा नेपाली बजारबाट बिउ खरिद गरि मकै खेती गरेको उहाँको भनाई छ ।

जिराभवानी गाउँपालिका वडा नं १ शान्तिनगरका रवीमोहन सापकोटाले तोरीबाली पछि खेत खाली भएका किसानहरुले खतबाट थप्प एक बाली लिने गरेको बताउनुभयो । यो खेती गर्न सजिलो भएको र उत्पादन पनि राम्रो भएकाले किसान यसप्रति आकर्षित भएको सापकोटाको भनाई थियो ।

जिराभवानी गाउँपालिकामा चालिस हेक्टर क्षेत्रफल जग्गामा मकैखेती भएको कृषिशाखा प्रमुख क्षत्रबहादुर गुप्ताले बताउनुभयो ।
त्यस्तै पटेर्वासुगौली गाउँपालिकाका कृषिशाखा प्रमुख मोहन दासले पालिकाको पाँचै वडामा करिब ८० बिघा जमिनमा मकैबालीको खेती भएको बताउनुभयो । किसानको माग बमोजिम ९०८१ र ३३५५ हाईब्रिड जातको मकैको बिउ ५० प्रतिशत अनुदानमा बितरण गरिएको दासले जानकारी दिनुभयो ।

कृषि ज्ञान केन्द्र पर्साका बाली बिकास अधिकृत सुरेश चौरसियाले विगतको तुलनामा यस वर्ष बसन्ते मकैबालीको खेति बढि भएको जानकारी दिनुभयो । यस बालीबाट किसानले राम्रो मुनाफा कमाउन सक्ने अधिकृत चौरसियाले तर्क छ । यस प्रकारको बालीबाट किसानले प्रतिकठ्ठा तीन देखि चार क्विन्टल मकै उत्पादन गर्न सक्ने र अहिले मकैको बजार भाउ तीन हजार पाँच सय रुपैया प्रतिक्वीन्टल रहेका अधिकृत चौरसियाले उल्लेख गर्नुभएको छ ।


सम्बन्धित समाचार