Logo

२४ वैशाख, जनकपुरधाम । धनुषाको एक पोखरीमा डुबेर जुम्ल्याहा बालकको मृत्यु भएको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २४ का अलिहसन अन्सारीका जुम्ल्याहा छोराहरु ९ वर्षीय मोहमद अल्कामा अन्सारी र मोहमद अब्दुल अन्सारीको मृत्यु भएको हो । हिजो साँझ करिब सवा ७ बजेको समयमा वडा नं. २४ बसहियास्थित गोगल प्रसाद नमुना मावि अगाडिको पोखरीमा नुहाउने क्रममा दुवै बालकको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । धनुषाका प्रहरी प्रवक्ता वेदप्रसाद गौतमका अनुसार बालक डुबेको खबर पाएलगत्तै प्रहरी टोली पुगेर दुवैलाई पोखरीबाट निकालेर उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा लगेको थियो । राति ८ बजे दुवै बालकलाई चिकित्सकले मृत घोषणा गरेको उनले बताउनुभयो । उनीहरुको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ । घटना विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । २०७८ सालमा धनुषाको मुखियापट्टी मुसहरनियाँमा पाँच बालिकाको पोखरीमा डुबेर ज्यान गएको थियो ।


सम्बन्धित समाचार