Logo

२५ वैशाख, ठोरी ।पर्साको ठोरी गाउँपालिका–३ स्थित शिकारीबास गाउँ दुई सातादेखि उज्यालो देखिएको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको लगानीमा सोलारमार्फत विद्युतीकरण गरिएपछि अहिले गाउँ नै उज्यालो देखिएको हो ।

शिकारीबासका स्थानीय युवा जितेन्द्र चौधरीले बिजुली बत्तीले गाउँ उज्यालो भएपछि साँझपख वन्यजन्तुको डरबाट मुक्त भएको बताउनुभयो । गाउँ उज्यालिएर स्वर्गजस्तो भएको उहाँको भनाई छ । पर्सा र चितवन राष्ट्रिय निकुन्जको सीमाका घना जंगलबिच रहेको उक्त मानव बस्तीमा सौर्य ऊर्जाबाट २३ किलोवाट बिजुली उत्पादन गरेर यहाँका ५२ घरधुरीलाई बिजुली उपलब्ध गराईएको हो ।

अहिले गाउँको वरिपरि रहेको २५ वटा विद्युत पोलमा साँझ ६ बजेदेखि स्वत्त बत्ती बल्ने गर्छ । ठोरी गाउँपालिका सौर्य मिनी ग्रेट आयोजना उपभोक्ता समितिका अध्यक्ष शिवजनम चौधरीले ठेकेदार सनसाइन इनर्जी कम्पनीले यो परियोजना निर्माण गरेको बताउनुभयो । सौर्य ऊर्जाबाट उत्पादित बिजुली सबै घरधुरीले बत्ती बाल्ने, टीभी र फ्रिजसम्म चलाउन सक्ने बताईएको छ ।

कुल १ करोड ५९ लाख ११ हजार ९ सय १७ रुपैया बजेटको यो कार्यक्रममा उपभोक्ता समितिले १० प्रतिशत लगानी गर्नुपर्नेमा ठोरी गाउँपालिकाको कार्यालयले उक्त रकम लगानी गरिदिएको हो । ठोरी गाउँपालिका–३ का अध्यक्ष शम्भु खड्काले लामो प्रयास पछि यो परियोजना सफल हुन सकेको जानकारी दिनुभयो ।


सम्बन्धित समाचार