Logo

२५ वैशाख, वीरगञ्ज ।सुन तथा हीरा लगायत विभिन्न किसिमका पत्थरसहित एक जना भारतीय नागरिकलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । प्रहरीले भारत हौँडा जिल्ला डोमजुर ग्राम पञ्चायत बदमपुर टोल बस्ने ४५ वर्षीय बुद्धदेव मैतीलाई पक्राउ गरेको हो ।

भारतबाट अवैध रूपमा सुन, हीरालगायत पत्थर ल्याउँदै गरेको विशेष सूचनाका आधारमा वीरगञ्ज–१६ शंकराचार्य गेटस्थित सडकखण्डबाट उनलाई पक्राउ गरिएको हो ।

उनको साथबाट सुनजस्तो देखिने पहेँलो धातुको सिक्री २७ थान (२२४.८ ग्राम), हिरा जस्तो देखिने टल्कने कालो सेतो पत्थर २१.९ ग्राम, पोल्की हीराजस्तो देखिने पत्थर ५.२० ग्राम, हरियो पन्नाजस्तो देखिने पत्थर ६.७८ ग्राम, रातो रुबीजस्तो देखिने पत्थर ८.४९ ग्राम, नीलो रंगको निजम २.३८ ग्राम, तलमरी पत्थर ७२ ग्राम, रूबीजस्तो देखिने रातो पत्थर २१ ग्राम, रातो रंगको (आर्टिफिसियल) स्टोन ११.६०० ग्राम बरामद गरिएको पर्साका प्रहरी प्रवक्ता डिएसपी निर्मल बुढाथोकीले जानकारी दिनुभयो ।

बरामद सुन, हिरा तथा विभिन्न पत्थरको मूल्यांकन २९ लाख ४४ हजार ६ सय ३३ रुपैँया कायम गरिएको प्रवक्ता बुढाथोकीले बताउनुभयो । पक्राउ परेका मैतीलाई बरामद उक्त सामानहरुसहित आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाईएको प्रहरीले जनाएको छ ।


सम्बन्धित समाचार