२५ वैशाख, वीरगञ्ज । वीरगञ्जको सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयको राजस्वमा निकै कमि आएको छ । कार्यालयले दिएको तथ्याङक अनुसार यसवर्ष राजश्व संकलनमा ह्वात्तै ह्रास आएको हो । कार्यालयले बैशाख महिनामा मात्र ५ अर्ब ८६ करोड ४४ लाख २५ हजार ४ सय ७७ रुपैँयाको लक्ष्य पाएको थियो ।
तर बैशाख मध्यान्हसम्म कार्यालयले १ अर्ब ४७ करोड ६३ हजार ९६४ मात्र सङ्कलन गरेको छ । त्यस्तै चालु आर्थिक वर्ष ०७९/८० को वैशाखसम्म कार्यालयले ५५ अर्ब २९ करोड १० लाख सात हजार ३ सय ४५ पाएकोमा वैशाख १४ गते सम्म ३३ अर्ब ४४ करोड ४६ लाख ६२ हजार २ सय १५ मात्र सङ्कलन भएको हो ।
यो कार्यालयले पाएको लक्ष्यको ६० दशमलव ४९ प्रतिशत मात्र हो । चालू आवमा भन्सार कार्यालयले ६६ अर्ब ४३ करोड ८६ लाख ९४ हजार ९ सय १८ रुपैँयाको वार्षिक राजस्व सङ्कलनको लक्ष्य पाएको छ ।
तर वैशाख १४ गतेसम्म सुक्खा बन्दरगाहले वार्षिक लक्ष्यको ४९ दशमलव ५९ प्रतिशत मात्र राजस्व सङ्कलन गर्न सकेको सुक्खा बन्दरगाह भन्सार कार्यालयका प्रवक्ता सन्तोष न्यौपानेले बताउनुभयो ।
सुक्खा बन्दरगाहले चालू आवमा लक्ष्य उठाउने सम्भावना निकै कम रहेको उहाँको भनाई छ । असार मसान्तसम्म लक्ष्यका प्राप्तिका लागि बन्दरगाहले थप ३३ अर्ब ९९ करोड ४० लाख ३२ हजार ७०२ उठाउनुपर्ने देखिएको छ ।
तर करीब १० महीनाको समयमावधिमा लक्ष्यको आधा मात्र राजश्व संकलन गर्न सकेको कार्यालयले असार मसान्तसम्म लक्ष्य भेट्टाउन नसक्ने सम्भावना बढेको छ ।