Logo

२५ वैशाख, वीरगञ्ज । जिल्ला समन्वय समिति पर्साका प्रमुख निरञ्जन कुमार सर्राफ (अजय) को सक्रियतामा पर्साको धोविनी गाउँपालिकाको तालाबन्दी खुलेको छ ।

उपाध्यक्ष मञ्जू देवीको नेतृत्वमा वडाअध्यक्ष र कार्यपालिका सदस्यहरुले विभिन्न माग राख्दै वैशाख ८ गते गाउँपालिका कार्यालयमा लगाएको तालाबन्दी जिल्ला समन्वय समिति पर्साका प्रमुख सर्राफको सक्रियतामा खुलेको हो ।

उपाध्यक्षमा मञ्जू देवी नेतृत्वको जनप्रतिनिधी समूहले गाउँपालिका अध्यक्ष मदन चौहानले हटाएका करार कर्मचारीलाई पुनः नियुक्त गर्नुपर्ने, नियमित रुपमा कार्यपालिका बैठक बोलाउनुपर्ने र समय समयमा शाखा प्रमुखहरुको शाखा परिवर्तन गर्नुपर्ने मागसहित तालाबन्दी गरेको थियो ।

तालाबन्दीका कारण गाउँपालिकाको दैनिक प्रशासनिक एवम् सेवाग्राहीका काम समेत ठप्प भएको थियो । सम्पूर्ण कामकाज ठप्प भएको अवस्थामा दुवै पक्षसँग आवश्यक छलफल गर्दै उनीहरुलाई सहमतिमा ल्याएर सर्राफको सक्रियतामा तालाबन्दी खुलेको छ ।

हिजो दुवै पक्षलाई बसाएर गराएको छलफलका क्रममा प्रत्येक महिना ३ पटक कार्यपालिका बैठक बस्ने, शाखा प्रमुखहरुको शाखा परिवर्तन गर्ने र करार कर्मचारीहरुको बारेमा आपसी सहमतीमा कार्यपालिका बैठकबाट निर्णय गर्ने सहमती भएको सर्राफले बताउनुभयो ।


सम्बन्धित समाचार