Logo

२७ वैशाख,वीरगञ्ज । पछिल्ला केही दिनयता तराई लगायत मुलुकका विभिन्न स्थानमा गर्मी बढेको छ । गर्मीको कारण तापक्रम बढ्दै जाँदा मधेशमा जनजीवन समेत प्रभावित बनेको छ । गर्मीका कारण तराई, मधेशका पर्सा, बारा, रौतहट तथा यस आसपासका स्थानीयवासीको दैनिकी प्रभावित बनेको हो ।

विहान बेलुका बजारमा चहलपहल देखिएपनि दिउँसो बजारमा भिडभाड पातलिएको छ । गर्मी बढ्दै जाँदा दैनिक ज्यालादारी गरी खाने वर्गलाई समस्या पर्न थालेको छ । अत्याधिक गर्मीले उनीहरुको जनजीवन अस्तव्यस्त भएको छ ।

वायुमण्डलीय तापक्रममा वृद्धिसँगै तातो हावा चल्नुले सर्वसाधारणलाई घरबाहिर निस्कन समस्या उत्पन्न भएको छ । योसँगै गर्मी बढेर मौसम परिवर्तनसँगै विभिन्न रोगका संक्रमण पनि देखा पर्न थालेका छन् ।

वीरगन्जको नारायणी अस्पताल तथा पर्सामा रहेका स्वास्थय चौकीहरुमा विरामीहरुको चाप पनि बढ्दै गएको छ । मौसम परिवर्तनसँगै हुने भाईरल रुघाखोँकी र ज्वरो लगायतका विरामीहरु दैनिक ५० जना जतिको संख्यामा अस्पताल पुग्ने गरेको फिजिसियन डाक्टर सरोजरोशन दासले बताउनुभयो ।

अहिले अत्याधिक गर्मीका कारण बच्चाको मुख सुक्ने, पानीको कमी हुने लगायतको समस्या देखिएका कारण झोलिलो पदार्थ खान चिकित्सकहरुले आग्रह गरेका छन् । चर्को घाममा अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन, निस्कनुपरे छाता ओढेर हिँड्न र प्रशस्त पानी पिउनुपर्ने स्वास्थ्यकर्मीहरूले सुझाव दिएका छन् ।

तराई, मधेश तथा चुरे क्षेत्रमा तापक्रम बढ्दो क्रममा रहेकाले गर्मीका कारण हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन जिल्ला स्वास्थ्य कार्यालय पर्साले अनुरोध गरेको छ ।


सम्बन्धित समाचार