Logo

२७ वैशाख,वीरगञ्ज । मधेश प्रदेशमा विगत केहि समयदेखि प्रतिबन्धित भारतिय नोट र नक्कली नेपाली नोटको तस्करीमा व्यापक वृद्धि भएको छ । मधेशका आठवटै जिल्ला भारतिय सिमासँग जोडिएको र खुला सिमाकै कारण अवैध रुपले भारतबाट नेपालतर्फ विभिन्न सामानको तस्करी हुदैँ आएको छ । तर विगत एक महिनादेखि भने प्रदेशका जिल्लामा नक्कली नेपाली नोट र प्रतिबन्धित भारतिय नोटको तस्करीमा समेत ह्वात्तै वृद्धि भएको हो ।

प्रहरीले दिएको जानकारी अनुसार पछिल्लो एक महिनाको अवधिमा भारतबाट अवैध तरिकाले तस्करी गरी ल्याईएका नक्कली नेपाली नोट र भारतीय प्रतिबन्धित नोटको परिमाणले समेत नोटको तस्करी बढेको देखाएको छ । नेपालमा भारतीय पाँच सय र दुई हजारको नोट प्रतिबन्धित छ । तर, यसको तस्करी भने खुलेयाम भएको देखिएको छ ।पर्साको वीरगञ्ज महानगरपालिकाबाट प्रहरीले गत वैशाख १९ गते प्रतिबन्धित ६ लाख रुपैयाँ बराबरको भारतीय नोटसहित दुई जनालाई पक्राउ गरेको थियो ।

प्रहरीले भारत उत्तर प्रदेश गोरखपुर ग्राम महुई सुघरपुर बस्ने विनोदकुमार गुप्ता र भारत विहार जिल्ला मोतीहारी ग्राम करमवा रघुनाथपुर अमितकुमार सिंहलाई नेपालमा प्रतिबन्धित पाँच सय र दुई हजारको भारतीय नोटसहित पक्राउ गरेको थियो । वडा प्रहरी कार्यालय विर्ता र प्रहरी चौकी इनर्वाबाट खटिएको प्रहरीको टोलीले वीरगञ्ज–१६ रजतजयन्ती चोकमा चेकजाँच गर्ने क्रममा सिंह र गुप्तालाई प्रतिबन्धित भारतीय नोटसहित पक्राउ गरेको हो ।

भारतबाट वीरगञ्जतर्फ आइरहेको गुप्ताको साथबाट दुई लाख बरामद गरिएको र सिंहको साथबाट भारतीय प्रतिबन्धित नोट तीन लाख ७५ हजार भारु बरामद गरिएको पर्साका डिएसपी निर्मल बुढाथोकीले जानकारी दिनुभयो ।

त्यस्तै गत बैशाख २० गते नक्कली नेपाली नोटसहित वीरगंज महानगरपालिका–१६ बाट सर्लाही गोडैता नगरपालिका–१२ मधुवनीका ३४ वर्षीय आनन्द बर्दन सिहं र बारा परवानीपुर गाउँपालिका–३ बस्ने ३६ वर्षीय ओमप्रकाश साह पक्राउ परेका थिए । उनीहरुको साथबाट १ हजार दरको ४ सय ५० थान र ५ सय दरको ७२ थान गरी जम्मा ४ लाख ८६ हजार नक्कली रुपैयाँ प्रहरीले बरामद गरेको थियो ।

त्यस्तै, वैशाख ४ गते महोत्तरीको मटिहानी नगरपालिका–८ स्थित दसगजा नजिकै भारतबाट नेपालतर्फ पैदल आउँदै गरेको धनुषा मुखियापट्टी मुसर्निया गाउँपालिका–१ बस्ने कृष्णकुमार यादवको साथबाट नेपाली १ हजारको नक्कली नोट थान १ एक फेला परेको थियो ।

यस्तै, वैशाख १२ गते धनुषाको जनकपुर उपमहानगरपालिका–२३ स्थित बसपार्कबाट प्रहरीले धनुषा विदेह नगरपालिका–६ बस्ने २५ वर्षीय अनुकुमारी साहले बोकेको कालो ब्यागबाट सात लाख ७१ हजार पाँच सय रुपैयाँ बराबरको नेपाली नक्कली नोट बरामद गरेको थियो ।

पर्सामा नक्कली नोट र प्रतिबन्धित भारुको तस्करी रोक्न सादा पोसाकमा समेत प्रहरी परिचालन गरिएको डिएसपी बुढाथोकीले बताउनुभएको छ । उहाँका अनुसार यो फोटोकपी हो । यसमा सलंग्न भएकाहरु आफैँ बजारमा नगई अरुलाई नोट दिएर साट्ने गर्दछन् ।

यता मधेश प्रदेशका प्रहरी प्रवक्ता एसपी महेन्द्र कुमार श्रेष्ठले मधेशका विभिन्न जिल्लाहरुमा प्रहरी तैनाथ राखिएको र नाकामा विशेष सुरक्षा सर्तकता अपनाईएको जानकारी दिनुभयो । उहाँले हाल ईन्फरमेसन कलेक्ट गरिरहेको र पक्राउ परेकाहरुसँग नै सुक्ष्म तरिकाले अनुसन्धान गरिरहेको बताउनुभयो । उहाँका अनुसार प्रहरी यस विषयमा अहिले गम्भिर छ र यस विरुद्धमा काम गरिरहेको छ ।


सम्बन्धित समाचार