Logo

२७ वैशाख,सेढवां। विगत केहि दिनदेखि चलेको पश्चिमी हावा तथा लागेको अत्याधिक चर्को घामका कारण पर्साको ग्रामीण भेगका बासिन्दाको जनजिवन कष्टकर बन्दै गएको छ । दैनिक जसो बिहान १० बजेतिर तिव्र गतिमा चल्ने हावा तथा अत्याधिक मात्रामा बढ्दो गर्मी र समयमा वर्षा नहुनाले निकै समस्या भएको स्थानियको गुनासो छ ।

पर्साको जगरनाथपुर गाउँपालिका–३ निवासी महेन्द्र राम चमारले प्रतिकुल मौसम नभएकाले दैनिक ज्यालादारीको काम समेत नराम्रोसँग प्रभावित भएको बताउनुभयो । उहाँले बिहान १० बजेपछिको समयमा चर्को घाम र पश्चिमी हावाका कारण काम गर्न नसकिने गुनासो गर्नुभयो ।
आफ्नो स्वास्थ्य नै जोखिममा राखेर दिनभरि काम गर्दा बिरामी हुने गरेको उहाँको भनाई छ । त्यस्तै तिव्र रुपमा चलेको पश्चिमी हावा तथा चर्को घामका कारण अहिले ग्रामीण भेगका सडकहरु सुनसान देखिएका छन् ।

जिराभवानी गाउँपालिकामा कार्यरत प्राविधिक ईन्जिनियर बन्टी कुमार चौरसियाले अहिलेको समयमा दिउँसो मोटरसाईकलमा यात्रा गर्दा ज्वरो आउने गरेको बताउनुभयो । साथै उहाँका अनुसार गर्मीकै कारण कतिपय यात्रीहरुको त नाक तथा मुखबाट रगत समेत आउने गरेको छ ।
पटेर्वासुगौली गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख भुजेन्द्र प्रसाद यादवले अहिलेको समयमा घाम तथा हावाको प्रकोपबाट बच्नँ सुझाव दिनुभएको छ । यसबाट बच्नँ दिउँसोको समयमा घरमै बस्न तथा धेरैभन्दा धेरै पानीको सेवन गर्न उहाँको सल्लाह छ ।

पश्चिमी हावाका कारण शरिर सुक्ने तथा हात खुट्टाका जोर्नीहरुमा दुखाईको समस्या उत्पन्न भएको स्थानियको भनाई छ । लामो समयदेखि पानी नपर्नाले बारा पर्सा लगायतका ग्रामीण कच्ची सडकहरु धुलाम्य भएका छन् । साथै तिव्र गतिले चलेको हावाका कारण धुलो उड्ने तथा आखाँमा फोहोर तथा धुलो पस्ने भएकाले आखाँको रोगीहरु समेत बढेका छन् ।
त्यस्तै समयमै पानी नपरेकाले जमिन सुख्खा भएर बगैँचामा फलेका आपँहरु त्यतिकै झर्ने कारणले किसान समेत चिन्तित बनेका छन् ।


सम्बन्धित समाचार