२९ वैशाख,वीरगञ्ज । जग्गाको मोहडा हुलाकी सडकसँग जोड्न जग्गा कारोबारीले नदीको बहाव परिवर्तन गरेका छन् । पर्साको बिन्दवासिनी गाउँपालिका २ बहुअर्वाभाठास्थित हुलाकी सडक भई बग्ने ढोङही नदीको बहाव परिवर्तन गरिएको हो ।
बहाव परिवर्तन गरेपछि करिब २ किलोमिटर उत्तर, पश्चिम हुँदै दक्षिणतर्फ बग्ने नदी अहिले ५० मिटरमात्र पश्चिम बगेर दक्षिणतर्फ मोडिएको छ । गाउँपालिकाले स्काभेटर प्रयोग गरी नदीको पुरानै बहाव कायम गर्न प्रयास गरे पनि सफल भएको छैन । यही बीचमा जग्गा कारोबारीले गाउँपालिकालाई विपक्षी बनाई अदालतमा मुद्दा दर्ता गराएका छन् । गाउँका विभिन्न व्यक्तिसँग जग्गा कारोबारीले सस्तो मूल्यमा १२ बिघा जग्गा खरिद गरी उक्त जग्गालाई सडकसँग जोड्न नदीको बहाव परिवर्तन गरेका हुन् ।
हुलाकी सडक निर्माण नहुन्जेलसम्म उक्त क्षेत्रमा जग्गाको खरिद बिक्री खासै थिएन । सबै खेतहरु थिए । अहिले पक्की हुलाकी सडक निर्माण भएपछि उक्त क्षेत्रको जग्गाको भाउ अकासिएको छ । उद्योग कलकारखाना खुल्ने क्रम बढ्दो छ । नदीको बहाव परिवर्तन गरेपछि उक्त क्षेत्रको १२ बिघा जग्गाको मोहडा हुलाकी सडकसँग जोडिएको छ ।
उक्त जग्गा र हुलाकी सडकको बीचमा विगतमा नदी बग्ने गरेको थियो । अहिले नदी उत्तरतर्फ बग्ने ठाउँमा माटो पुरिएको छ । करिब ५० मिटर पश्चिम नदीको बहावका लागि स्काभेटरले खनेर नयाँ मुहान (नदीको बाटो) निर्माण गरिएको छ, जहाँ विगतमा दुई किलोमिटर नदी घुमेर आउने गरेको थियो ।
स्थानीय सन्दीप साहका अनुसार जग्गा कारोबारीले पहिलो पटक २०७७ साउन २५ मा बहाव परिवर्तन गर्न स्काभेटरले माटो काटी नदीको उत्तरतर्फको बहाव बन्द गरेका थिए । नदीको बहाव परिवर्तन गरिएपछि गाउँलेले विरोध जनाएका थिए । ‘नदीको पुरानै बहाव कायम गर्न माग गरेका थिए,’ उनले भने, ‘चौतर्फी विरोध भएपछि गाउँपालिका तत्कालीन अध्यक्ष श्रीलाल साह कानुले आफ्नै अगुवामा स्काभेटर लगेर पुरानो बहावमा लगाइएको माटोको बाँध काट्न लगाएका थिए ।
त्यसपछि नदी फेरि पुरानै धारमा फर्किएको थियो ।’ तर, त्यसको ४ महिनापछि जग्गा कारोबारीले पुनः बाँध बाधेर नदीको बहाव परिवर्तन गरिदिएका थिए । त्यसबेला नदीको बहाव परिवर्तन गरिए पनि पुरानो बहाव क्षेत्रमा माटो पुरेका थिएनन् । अहिले नदीको पुरानो बहाव क्षेत्रमा ट्याक्टरले माटो पुरेर १२ बिघा जग्गाको मोहडा हुलाकी सडकसँग जोडेका छन् ।
नदीको साविक बहाव क्षेत्रमा माटो पुरी हुलाकी सडकसँग जोडिएको जग्गाको नक्सा । पहेलो रंगले नदीको नयाँ बहाव देखाउँछ । नीलो रंगले नदीको साविक बहाव देखाउँछ । जहाँ अहिले माटो पुरिएको छ ।
‘उत्तर, पश्चिम र दक्षिण हुँदै करिब २ किलोमिटर बगेर आउने नदीको पुरानो बहाव परिवर्तन गरिएको छ,’ बहुअर्वाभाठा निवासी कृष्ण राज ठाकुरले भने, ‘जग्गा सडकसँग जोड्न कारोबारीले नदीको बहाव परिवर्तन गरेका हुन् ।’ बहाव परिवर्तन भएपछि करिब ५ सय बिघा खेतमा सिँचाइको समस्या भएको ठाकुर बताउँछन् ।
‘विगतमा नदी दुई किलोमिटर बग्दा त्यस वरिपरिका बहुअर्वा र गर्दौलका खेतहरुमा नदीको पानीले सिँचाइ गरिन्थ्यो,’ उनले भने, ‘नदीको छेउमा श्मसान घाटसमेत थियो, अब अन्तिम संस्कारसमेत प्रभावित भएको छ ।’ नदीको पुरानो बहाव क्षेत्रलाई अतिक्रमण गर्न नदीको किनारमा टिपरमार्फत माटो खसालिएको थियो । उनले भने, ‘६०÷७० फिट चौडाई र करिब २ किलोमिटर लम्बाईको जग्गा अतिक्रमणमा पर्ने देखिन्छ ।’
बाटो नभएको खोलापरिका जग्गाहरु सस्तो मूल्यमा खरिद गरी उद्योग स्थापना गर्ने उद्देश्य रहेको स्थानीय बताउँछन् । ‘विभिन्न व्यक्तिको जग्गा खरिद गरी वीरगन्ज सिर्सियाका रामनारायण ठाकुरले करिब १२ बिघाको प्लट बनाएका छन्,’ सम्बद्ध स्रोतले भन्यो, ‘नदीको बहाव परिवर्तन गरेपछि जग्गा सडकसँग जोडिएको छ, खेतको मूल्यमा खरिद गरिएको जग्गाहरु महँगो मूल्यमा उद्योग स्थापना गर्ने उद्योगीलाई बिक्री गर्ने योजना छ ।’
पहिलो पटक गाउँपालिकाले नदीको बहाव पुरानै अवस्थामा फर्काएपछि जग्गाधनी रामनारायण ठाकुरले गाउँपालिकाको निर्णयको विरोध गरेका थिएनन् । गत माघमा नदीको पुरानो मुहान क्षेत्रमा फेरि माटो पुर्न थालेपछि गाउँपालिका अध्यक्ष प्रमोद तिवारीले स्काभेटर प्रयोग गरी पुरानो बहाव क्षेत्रबाट माटो निकालेका थिए ।
गत माघ १० मा अध्यक्ष तिवारीले रामनारायण ठाकुरलाई पक्राउ गर्न ईलाका प्रहरी कार्यालय पोखरियालाई पत्राचार नै गरेका थिए । वीरगन्ज महानगरपालिका २५ निवासी रामनारायण ठाकुरले २ वर्ष अगाडि बिन्दवासिनी गाउँपालिका २ मा रहेको ढोङही नदीको मुहान मेटाएर अर्को मुहान सञ्चालन गरी जमिन अतिक्रमण गरेको र हाल पनि जमिन अतिक्रमण गरिरहेकाले निजलाई यथाशीघ्र पक्राउ गरी पालिकालाई जानकारी गराउन अध्यक्षले प्रहरीलाई पत्राचार गरेका थिए ।
‘भूमाफियाले चलखेल गरी नदीको मुहान परिवर्तन गरी जमिन अतिक्रमण गरेका छन्,’ गाउँपालिका अध्यक्ष प्रमोद तिवारी भन्छन्, ‘अदालतमा मुद्दा परेकाले अतिक्रमण हटाएका छैनौँ । नदीको बहाव पुरानै अवस्थामा फर्काउछौँ ।’ जग्गाधनी रामनारायण ठाकुरले जग्गामा धेरै लगानी लागिसकेकाले बाटोको माग गर्दै अदालतमा मुद्दा दर्ता गरेको बताउँछन् ।
‘जमिन छाडेर कहाँ जानु,’ उनले भने, ‘त्यत्रो लगानी लागिसक्यो, गाउँपालिकाले बाटोको निकास दिनुपर्छ ।’ गाउँपालिकाको तत्कालीन अध्यक्ष श्रीलाल साह कानुको कार्यकालमा जग्गा कारोबारीले नदीको बहाव परिवर्तन गरेको ठाउँमा जाली र बोल्डरसहितको संरचना निर्माणका लागि ५ लाख रुपैयाँसमेत विनियोजन गरेको थियो ।
तर, आर्थिक वर्ष सकिए पनि उक्त रकम खर्च हुन सकेन । ढोङही नदीको बहावलाई पुरानै अवस्थामा राख्ने भनेर बिन्दवासिनी गाउँपालिकाको बोर्ड बैठकले निर्णय नै गरेको थियो ।साभार कान्तिपुर भूषण यादव