Logo

३० वैशाख, वीरगञ्ज । विगत दुई दशकदेखि बन्द रहेको वीरगञ्ज चिनी काराखानामा करोडौ मुल्य बराबरको गाडीहरु अहिले कबाड बनेका छन् । वीरगञ्ज चिनी कारखाना बन्द भएसँगै कारखानाभित्र रहेका ति सवारी साधनहरु रेखदेख र उचित संरक्षणको अभावमा अहिले कबाड बनेका हुन् ।

वीरगञ्ज चिनी कारखाना ०५९ सालमा सरकारले बन्द गरिदिएसँगै कारखानामा रहेका सवारी साधनहरु कारखानाभित्रै जस्तो अवस्थामा थिए अहिले पनि त्यही अवस्थामा छन् । दुई दशक अघि काराखना बन्द हुने समयमा चालु अवस्थामा रहेका गाडीहरु सञ्चालन नहुनु तथा घाम पानीले गर्दा खिया लागेर कबाडमा परिणत भएको हो । काराखानाभित्रको ६ वटा टयाक्टर, १४ वटा ट्रक, एउटा कर्मचारी चढने बस र एउटा जेसिबीमा खिया लागेर थन्किएको छ । ती गाडीहरुमा खिया लाग्नुको साथै घाँसै उम्रिएर छोपिएको छ ।

लामो समयसम्म उक्त गाडीहरु सञ्चालन नभएकाले अहिले गाडीहरु कबाड बनेको वीरगञ्ज चिनी कारखानाका प्रशासन प्रबन्धक अवधकिशोर सिहंले जानकारी दिनुभयो । कारखाना बन्द हुने बेलासम्म सबै गाडीहरु सञ्चालनमा रहेको भएपनि कारखाना बन्द भएपछि ती गाडीहरु भित्रै जस्ताको त्यस्तै अवस्थामा राखिएकाले गाडीहरु अहिले चलाउने अवस्थामा नभएको उहाँको भनाई छ ।

कारखाना बन्द भएको नै २० वर्ष पुगेको र गाडीको चलाउने समयसिमा समेत २० वर्ष नै भएकाले अहिले कारखानाभित्रका गाडीहरुलाई मर्मत गरेर भएपनि चलाउने अवस्था नरहेको उहाँले बताउनुभयो । सरकारले केही वर्ष अघि ति गाडीहरुलाई बिक्री गर्न खोजेपनि गाडीको म्याद नै सनिक लागेकाले कसैले खरिद नगरेका गाडीहरु बिक्री नभएको प्रबन्धक सिंहले बताउनुभयो ।

सरकारले वीरगञ्ज चिनी कारखाना बन्द गरेपछि त्यसलाई सञ्चालन गर्न नसकेपनि त्यहाँ रहेका गाडीहरुको संरक्षण गर्नुपर्ने दायित्व भएको उखु किसान सघं पर्साका अध्यक्ष असर्फी साहले बताउनुभयो । उहाँले सरकारको कमजोरी र बेवास्ताकै कारण चिनी कारखानासमेत नचलेको तथा त्यहाँ भएका करोडौ मुल्यका गाडीहरु पनि अहिले कबाडमा परिणत भएको आरोप लगाउनुभयो ।

वीरगञ्ज चिनी कारखाना नेपाल सरकार र सोभियत संघको सहयोगमा ०२१ सालमा स्थापना भएको थियो । ऋणले थिचिएको र घाटामा गएको देखाएर २०५९ सालमा सरकारले खारेज गरेको थियो ।


सम्बन्धित समाचार