Logo

१ जेठ,काठमाडौं। पूर्व उपप्रधानमन्त्री तथा सांसद टोपबहादुर रायमाझी बूढानीलकण्ठ पासीकोटको एक घरबाट पक्राउ परेका छन् ।नक्कली शरणार्थी बनाएर विदेश लैजाने नाममा भएको ठगी मुद्दामा फरार एमाले सचिवसमेत रहेका रायमाझी आइतबार साँझ पक्राउ परेका छन्। फरार भएको ११ औं दिनमा प्रहरीले उनलाई पक्राउ गरेको हो।

प्रहरी सो्रतका अनुसार रायमाझी शनिबार मात्रै काठमाडौ छिरेको सूचना प्रहरीले पाएको थियो। उनी पासीकोटस्थित एक व्यक्तिको घरमा बसिरहेको अवस्थामा पक्राउ परेका हुन्।सो प्रकरणमा पूर्व गृहमन्त्री बालकृष्ण खाँण, बहालवाला सचिव टेकनारायण पाण्डे, सुरक्षाविज्ञ डा. इन्द्रजित राईलगायत १२ जनालाई प्रहरीले पक्राउ गरी हिरासतमा राखेको छ।

उनीविरुद्ध जिल्ला अदालत काठमाडौंबाट वैशाख २० मा पक्राउ पुर्जी जारी भएको थियो। पक्राउ पुर्जी आउँदा उनी अर्घाखाँचीस्थित महेन्द्र विद्यावोध माध्यमिक विद्यालयको हिरक महोत्सव उद्घाटन कार्यक्रममा थिए। त्यहाँबाट काठमाडौं हिँडेका रायमाझी फरार भएका थिए।
प्रहरीले शरणार्थी प्रकरणमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य, पूर्वगृहमन्त्री बालकृष्ण खाँण र उनका स्वकीय सचिव नरेन्द्र केसीलाई वैशाख २७ गते पक्राउ गरेको थियो ।

त्यसअघि वैशाख १९ गते तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार डा इन्द्रजित राई र वैशाख २० गते बहालवाला सचिव (तत्कालीन गृहसचिव) टेकनारायण पाण्डे पक्राउ परेका थिए ।

प्रहरीले उक्त घटनाका गिरोहहरु सन्दीप रायमाझीलाई वैशाख २० मा साथै केशव दुलाल, सानु भण्डारी, टङ्क गुरुङ, सन्देश शर्मा पोखरेल र सागर थुलुङलाई गत चैतमा पक्राउ गरेको थियो । यही वैशाख २६ गते काठमाडौँको टोखा बस्ने रामशरण केसी र मोरङ घर भएका गोविन्द चौधरी पक्राउ परेका थिए । उनीहरु सबैका लागि आजै चार दिन म्याद थप भएको छ।

घटनामा मुछिएर पक्राउ पुर्जी जारी भएकापक्राउ परेका डा इन्द्रजित राईका छोरा निरजलाई प्रहरीले खोजी गरिरहेको छ।आज पक्राउ परेका रायमाझीलाई नेकपा (एमाले)ले सचिवबाट निलम्बन पनि गरिसकेको छ । उक्त घटनामा हालसम्म एक सय छजनाले २० वटा जाहेरी दिएका छन् । उनीहरुले कूल रु २३ करोड २५ लाख ठगी भएको भनी जाहेरी दिएका छन् ।

घटनामा मुछिएपछि प्रहरीले थप दुईजनालाई पक्राउ पुर्जी जारी गरिसकेको छ । शुक्रबार पक्राउ पुर्जी जारी भएकामा तत्कालीन गृहमन्त्री तथा नेकपा (एमाले) का उपाध्यक्ष रामबहादुर थापा बादलका छोरा प्रतीक र कांग्रेसका नेता पूर्वसभासद् आङ्टावा शेर्पा छन् ।


सम्बन्धित समाचार