Logo

१ जेठ,वीरगञ्ज । अत्याधिक गर्मी बढेसँगै अस्पतालमा सर्पदशंका बिरामीहरु बढ्न थालेका छन । गर्मीको मौसम शुरु भई बैशाख महिना लागेदेखि नै अस्पतालमा सर्पले डसेका बिरामीहरु बढ्न थालेका हुन् । गर्मीको मौसममा सर्पहरु बढि सक्रिय भई मानिसहरुलाई डस्ने भएकाले यस्ता घटनामा वृद्धि हुने गरेको हो ।

मधेस प्रदेशका पर्सा, बारा रौतहट लगायतका जिल्लाबाट सर्पले डसेको बिरामीहरु उपचारकै लागि आउने भएकाले वीरगञ्जको नारायणी अस्पतालमा पनि सर्पदंशका बिरामीहरु बढेका छन् । चैत सम्ममा फाटफुट रुपमा मात्रै सर्पले डसेका बिरामीहरु अस्पतालमा आउने गरेको भएपनि बैशाख महिना सुरुभएसँगै सर्पदंशका बिरामीहरु अस्पताल आउने क्रम बढेको बताईएको छ ।

अहिले दैनिक दुई देखि तीन जना सम्म बिषालु सर्पले डसेका बिरामीहरु अस्पतालमा उपचार गराउन आउने नारायणी अस्पतालका प्रवक्ता डा.उदय नारायण सिंहले जानकारी दिनुभयो । अस्पतालमा अहिले प्राय तराईमा पाईने गोमन, करेत सर्पले डसेका बिरामीहरु आउने उहाँको भनाई छ ।

पछिल्लो समय भने नारायणी अस्पतालमा आउने सर्पदशंका बिरामीको सङख्यामा कमि आएको डा. सिंहले बताउनुभयो । पर्साको ठोरी गाउँपालिका र बाराको जितपुर सिमरा उपमहानगरपालिकामा नेपाली सेना, प्रादेशिक अस्पताल कलैया र निजगढमा पनि सर्पदशं उपचार केन्द्र सञ्चालन गरि सकिएकाले नारायणी अस्पतालमा पहिलेको भन्दा अहिले सर्पदशंका बिरामीको चापँ कम भएको हो ।

उहाँले मधेस प्रदेश भरिनै सर्पदशंका बिरामीहरु नारायणी अस्पतालमा उपचारको लागि आउने गरेकाले यहाँ सर्पले डसेका बिरामीलाई दिईने एन्टि स्नेक भेनमको पर्याप्त व्यवस्था गरिएको बताउनुभयो ।

गर्मी बिस्तारै बढ्दै गएको तथा पानी नपर्नाले सर्पहरु द्ुलोबाट बाहिर निस्कने भएकाले मधेसका आठैवटा जिल्लाहरुमा सर्पदशंका घटनामा उल्लेख्य वृद्धि भएको पाईन्छ । त्यस्तै वर्षेनी सर्पको डसाईबाट थुप्रै मानिसहरुले ज्यान समेत गुमाउनु परेको छ । तसर्थ यस समयमा सावधानी अपनाउन डा. सिंहको सुझाव छ ।


सम्बन्धित समाचार