Logo

२ जेठ,चितवन । चितवनमा आइतबार साँझ आएको हावाहुरीले किसानको खेतमा लगाएको पाँच करोड मूल्यबराबरको केराखेती नष्ट गरेको छ । जिल्लाका सातवटा पालिकाका किसानको केरा हावाहुरीले नष्ट गरेको हो ।

१५० बिघामा लगाएको केरा पूर्णरुपमा क्षति भएको चितवन केरा उत्पादक संघका महासचिव जनकराज पन्तले जानकारी दिए । १५० बिघाको केरा नष्ट हुँदा करिब ५ करोड क्षति भएको उनले बताए । जिल्लाको सात पालिकामध्ये खैरहनी र राप्तीमा बढी क्षति भएको छ । रत्ननगर र कालिकामा आंशिक क्षति भएको पन्तले बताए ।

जिल्लाका अन्य पालिकाका किसानहरुको केरासमेत हावाहुरीले नष्ट गरेको छ । रत्ननगर–५, झुवानीका किसान ऋषि गुरूङले खैरहनी र राप्तीमा गरी २२ बिघा क्षेत्रफलमा खेती गर्दै आएका छन् । हावाहुरीले उनको १० हजार बोट केरा नष्ट गरेको छ । १० हजार बोट केरा नष्ट हुँदा करिब ५० लाख नोक्सान भएको किसान गुरूङले जानकारी दिए ।

रत्ननगरका बाबुराम भट्टको ५ बिघाको केरा पूर्णरुपमा क्षति भएको छ । उनले रत्ननगर–४, सेरीमा १० बिघा क्षेत्रफलमा केराखेती गर्दै आएका छन् । ५ बिघाको केरा नष्ट हुँदा २५ लाख नोक्सान भएको उनले जानकारी दिए । ‘असारमा तयारी भएर बजार पठाउने योजना थियो’, उनले भने, ‘हावाहुरीले सबै योजना तहसनहस भयो ।’

रत्ननगरकै बाबुराम दुवाडीको २ बिघाको केराखेती नष्ट हुँदा १० लाख क्षति भएको छ । ‘एक–दुई महिनाभित्रै तयारी हुने अवस्था थियो’, उनले भने, ‘हावाहुरीले एकाएक केरा नष्ट गरिदियो ।’

हावाहुरीले मालभोग र जिआइन जातको केरा नष्ट गरेको छ । संघले सोमबार बिहानैदेखि क्षतिको विवरण संकलन गरेको थियो । ‘यो प्रारम्भिक विवरण हो’, उनले भने, ‘मंगलबारसम्म यथार्थ विवरण आउने छ ।’

चितवनमा ७५० जना किसानले तीन हजार बिघामा व्यावसायिकरुपमा केराखेती गर्दै आएका छन् । यहाँ वार्षिक ७० हजार मेट्रिक टन अर्थात् एक अर्ब ६० करोडको केरा उत्पादन हुँदै आएको छ । जिल्लाका अधिकांश किसानहरुले जग्गा भाडामा लिएर केराखेती गर्दै आएको महासचिव पन्तले बताए । यहाँका अधिकांश किसानहरुले केराखेतीको बिमा गरेका छन् ।बिमाका लागि राज्यले अनुदान रकम उपलब्ध गराउँदै आएको छ ।


सम्बन्धित समाचार