Logo

२ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ। मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेबीच भेटवार्ता भएको हो।

भेटमा संसद् बैठक, नीति तथा कार्यक्रम र बजेटबारे छलफल भएको सभामुखको सचिवालयले जनाएको छ। भेटमा प्रधानमन्त्री प्रचण्डले समितिहरूको बैठक सुरू भएपछि संसद्ले लय समातेको बताउँदै संसदमा विचाराधीन विधेयकहरू टुंगो लगाउन र सभामुखका तर्फबाट संसद् सञ्चालनका लागि सबै दलसँग गरेको समन्वय सराहनीय रहेको बताएका छन्।

‘आजबाट समितिहरूको बैठक सुरू भएपछि संसद्ले लय समातेको छ। संसदमा विचाराधीन विधेयकहरू टुंगो लगाउन अब सहज हुने अपेक्षा गरेको छु। सभामुखका तर्फबाट संसद् सञ्चालनका लागि सबै दलसँग समन्वय र सहकार्यको जुन प्रयास गर्नुभएको छ, त्यो सराहनीय छ।

सरकारले जेठ ५ गते नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी गरेको जानकारी गराउँदछु,’ उनले भने। सभामुख घिमिरेले संसद सचिवालयले नीति तथा कार्यक्रम र बजेटको तयारी गरिरहेको बताउँदै सांसदहरूले सदनमा उठेका विषयमा सरकारको जवाफ नपाएको गुनासो गरेकाले गम्भीरतापूर्वक लिन आग्रह गरेका थिए।


सम्बन्धित समाचार