
३ जेठ,वीरगञ्ज । बाराको पचरौता नगरपालिका वडा नम्बर १ पिपरपातिमा आज विहान आगलागी हुँदा ५ वटा चौपाया मर्नुका साथै ५ लाख बराबरको क्षति भएको छ । स्थानिय चकोर मियाँको एक तले गोठ घरमा आज विहान करिब ४ः१५ बजे आगलागी भएको हो ।
लामखुट्टे धपाउन बालिएको घुरबाट आगो सल्केर आगलागी भएको प्रहरीले जनाएको छ । दमकल, प्रहरी, सशस्त्र प्रहरी र स्थानियवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ । आगलागीबाट गोठघर जल्नुका साथै एउटा भैसी, पाडी, दुई वटा खसी र एउटा पाठी गरी ५ वटा चौपाया मरेको प्रहरीले जनाएको छ ।
आगलागीबाट ५ लाख बराबरको क्षति भएको पिडित पक्षको भनाईलाई उदिृत गर्दै प्रहरीले जनाएको छ ।