३ जेठ,वीरगञ्ज । पर्साको विन्दबासीनी गाउँपालिकामा विद्यालयको जग्गा खाली गराउने विषयमा सामान्य विवाद भएको छ । गाउँपालिका अध्यक्ष प्रमोद तिवारीको निर्देशनमा विद्यालय र ऐलानी जग्गा खाली गराउने विषयमा स्थानिय गाउँलेले नमानेपछि झडप हुदाँ तनावग्रस्त स्थिती सिर्जना भएको हो ।
गर्दौलमा विद्यालयको जग्गा २ बिगाहा १ कठ्ठा १५ धुर र गाउँपालिकाको १ बिघा १ कट्ठा ८ धुर ऐलानी जग्गा अतिक्रमणको चपेटामा परेको छ । सोही जग्गा खाली गराउन कार्यपालिकाको बैठकले ११ महीनाअघि नै सूचना जारी गरि निर्देशन दिएको थियो । तर अतिक्रमित उक्त जग्गा हालसम्म पनि स्थानियले खाली नगर्दा झडपको स्थिती बनेपछि जिल्ला प्रहरी कार्यलय पर्साबाट सुरक्षा कर्मीको टोली खटिएर झडप हुनबाट रोकेको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक दिपक गिरीले जानकारी दिनुभयो ।
सो अवधिभित्र जग्गा खाली नगरेको खण्डमा नेपाल सरकारको प्रचलित कानुन बमोजिम खाली गराईने र कारवाही गरिने निर्णय भएको उहाँको भनाई छ ।
गाउँपालिका अध्यक्ष तिवारीले अतिक्रमित जग्गा हटाउन खोजेको तर वडाध्यक्ष मुक्तिनारण कुर्मीले भने अतिक्रमित जग्गा हटाउन नखोज्दा विवाद उत्पन्न भएको थियो ।
जनप्रतिनिधिबिच ७ दिनभित्रमा अतिक्रमित जग्गा खाली गराउने सहमति भएसँगै स्थिती सामान्य बनेको प्रवक्ता गिरीले बताउनुभयो । स्थिति सामान्य बनेसँगै उक्त क्षेत्रमा खटिएका प्रहरीहरु फिर्ता आएका छन् ।