Logo

६ जेठ, वीरगञ्ज । काठमाडौँ । सत्ता गठबन्धन दलहरुबीच मधेस प्रदेशमा आलोपालोको सहमति अनुसार अहिलेकै पहिलो चरणमा जसपा नेतृत्वको सरकारलाई निरन्तरता दिने सहमति भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा दलहरुबीच यस्तो सहमति भएको गठबन्धन दलका नेताहरुले बताएका छन् । हाल मधेस प्रदेश सरकारको नेतृत्व जसपाले गरिरहेको छ । तर केन्द्रीय सत्ता गठबन्धनमा आएको फेरबदलसँगै कांग्रेसले आलोपालो अन्तर्गत पहिलो चरणमा आफ्नो दलले सरकारको नेतृत्व गर्न पाउनुपर्ने अडान लिँदै आएको थियो ।

कांग्रेसको यो अडानका कारण मधेस प्रदेश सरकार पुनर्गठन हुन सकेको थिएन । यो विवाद मिलाउन प्रधानमन्त्री निवासमा केही दिनदेखि नियमित बैठक बस्दै आएको थियो । शुक्रबार बसेको बैठकले मधेसमा आलोपालो सरकारको नेतृत्व गर्ने र पहिलो चरणमा जसपा नेतृत्वकै सरकारलाई निरन्तरता दिने माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं मधेस प्रदेश माओवादी संसदीय दलका नेता भरत साहले बताए ।

‘आलोपालो सरकारको नेतृत्व गर्ने लगभग पहिलादेखि नै सहमति थियो तर पहिलो चरणमा कसले गर्ने भनि विवाद थियो आज बसेको गठबन्धनको बैठकले पहिलो चरणमा जसपाले नेतृत्व गर्ने सहमति भएको छ’, साहको भनाइ छ । जसपापछि कुन दलले नेतृत्व गर्ने त्यस विषयमा गठबन्धन दलले पछि प्याकेजमै सहमति गर्न नेताहरु सहमत भएको साहले जानकारी दिए ।

दोस्रो चरणमा सातवटै प्रदेशको बारेमा छलफल हुने भन्दै उनले त्यहीं क्रममा मधेस प्रदेशका बारेमा पनि टुङ्गो लाग्ने भन्दै साहले मधेस प्रदेशमा कुन दलले कतिवटा मन्त्रालय लिने भन्नेबारे आइतवार जनकपुरमा बस्ने गठबन्धनमा सम्बद्ध दलहरुको बैठकले निर्णय गर्ने बताए । शुक्रबार माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्ड, कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा ९एस०का अध्यक्ष माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव, लोसपाका अध्यक्ष महन्थ ठाकुर र मधेस प्रदेशका अन्य नेताहरुबीच छलफल भएको हो ।

यसअघि बिहीबार बसेको बैठकमा लोसपाले मधेस प्रदेशको नेतृत्व पाउनुपर्ने प्रस्ताव गरेपछि जसपाका अध्यक्ष उपेन्द्र यादवले उपनिर्वाचनमा आफूलाई लोसपाले धोका दिएको प्रसंग उठाएका थिए । बैठकमा सहभागी एक नेताका अनुसार उपनिर्वाचनमा आफूले गठबन्धन दलबाट जस्तो सहयोग पाउनुपर्ने थियो त्यसरी सहयोग नपाएको गुनासो गरेपछि कांग्रेस सभापति शेरबहादुर देउवाले त्यसको खण्डन गरेका थिए ।

‘तीन ठाउँमा उपनिर्वाचन भएका थिए, त्यसमध्ये बारा–२ मा तपाई (उपेन्द्र यादव) मात्र जित्नुभयो, अरु ठाउँमा हारे । तपाई जित्नु र अरु दुई ठाउँमा गठबन्धन हार्नुलाई तपाईंले कसरी असहयोग भयो भन्नुभयो’ सभापति देउवाले बैठकमा प्रश्न गर्दै भनेका थिए, ‘गठबन्धनको सहयोग नभएको भए तपाईं पनि चुनाव हार्नुहुन्थ्यो, अहिले आएर सहयोग भएन भन्नु गलत हो ।’

जसपाका अध्यक्ष उपेन्द्र यादवको भनाईमा लोसपाका वरिष्ठ नेता शरतसिंह भण्डारीले पनि खण्डन गरेका थिए । उनले पनि लोसपाले पुरै शक्ति लगाएर उपेन्द्र यादवलाई चुनाव जिताएको भन्दै अहिले आएर सहयोग नै नभएको भन्नु गलत भएको बताएका थिए । ‘हाम्रो पार्टीबाट वरिष्ठ नेता राजेन्द्र महतोले चुनाव लड्ने इच्छा देखाउनुभएको थियो तर गठबन्धनले उपेन्द्र यादवलाई उम्मेदवार बनाएपछि महतोजी पछि हट्नुभएको हो अनि कसरी भन्नुहुन्छ सहयोग भएन’ भण्डारीले प्रश्न गरेका थिए ।


सम्बन्धित समाचार