Logo

६ जेठ,वीरगञ्ज । नेपाल शिक्षक महासंघले स्थानीय तहहरुले गरेको शिक्षक सरुवाको विरुद्ध चरणबद्ध आन्दोलनको घोषणा गरेको छ । स्थानीय तहहरुले विद्यालयका प्रधानाध्यापक, शिक्षक, बालविकास शिक्षक तथा विद्यालयका कर्मचारीहरुलाई विभिन्न पूर्वग्रह, दूराग्रह र राजनैतिक आस्था र व्यक्तिगत कुण्ठाको आधारमा भेदभाव गरेको भन्दै त्यसका विरुद्ध आन्दोलनको घोषणा गरेको हो ।

महासंघले आज नेपाल पत्रकार महसंघको सभाहलमा पत्रकार सम्मेलनको आयोजना गरेर चारबुँदे संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ । सार्वजनिक कार्यक्रम अनुसार जेठ ७ गते आईतबार जिल्लाका सम्पूर्ण विद्यालयहरुमा कार्यरत प्रधानाध्यापक, शिक्षक र कर्मचारीहरुले हातमा कालोपट्टी बाँधेर विरोध जनाउने, जेठ ८ र ९ गते वीरगन्ज महानगरपालिका कार्यालय अगाडि दिउँसो १ बजेदेखि बेलुकी पाँचबजेसम्म धर्ना बस्ने कार्यक्रम सार्वजनिक गरेको छ ।

जेठ ९ गते पनि शिक्षक महासंघले राखेको माग सम्बोधन नभए धर्नास्थलबाट संघर्षका कडा भन्दा कडा आन्दोलनको घोषणा गर्ने चेतावनी दिएका छन् ।शिक्षा ऐन, संसोधन सहित २०२८ तथा शिक्षा नियमावली (संसोधन सहित) २०५९ कायम नै रहेको अवस्थामा अस्थायी शिक्षक नियुक्त गर्दा नियुक्ति प्रकृयाको सम्बन्धमा नियमावलीको नियम ९६ (क) र ९७ मा स्पष्ट व्यावस्था भएको र शिक्षक सरुवा गर्ने

अधिकार शिक्षा नियमावलीको नियम ९९ बमोजिम जिल्ला शिक्षा अधिकारी अर्थात हालको शिक्षा विकास तथा समन्वय इकाई प्रमुखले गर्ने व्यावस्था रहेको र स्थानीय तहले अधिकार नै नभएको क्षेत्रमा हैकमवादी प्रवृत्तिले प्रधानाध्यापकहरको सरुवा, घटुवा, शिक्षक नियुक्ति

लगायतका गतिविधि गरेकोले त्यसको विरुद्ध आन्दोलनमा जानुपरेको शिक्षक महासंघका पर्सा अध्यक्ष तीर्थराज यादवले बताउनुभयो ।
यादवकै अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा विभिन्न शिक्षक संगठनका अध्यक्ष तथा प्रतिनिधि र विद्यालयका प्रधानाध्यापक र शिक्षकहरुको उपस्थिति रहेको थियो ।


सम्बन्धित समाचार