Logo

६ जेठ,वीरगञ्ज । स्वास्थय पत्रकार समूह पर्साको आयोजनामा एकदिवसीय आधारभुत पत्रकारिता तालिम सम्पन्न भएको छ । वीरगञ्ज पब्लिक कलेजको सभा कक्षमा सम्पन्न तालिममा समूहका अध्यक्ष राजेन्द्र सिंह, पत्रकारद्वय उज्जवल शर्मा र आरसी यादवले सहभागीहरुलाई प्रशिक्षण दिएका थिए ।

तालिमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै पर्साको पोखरिया नगरपालिकाका प्रमुख प्रधुमन चौहानले राज्यको चौथो अंग मानिने पत्रकारिता क्षेत्रमा चुनौती र अवसर दुवै भएको बताए । पत्रकारिता जस्तो मर्यादित एवम् जिम्मेवार पेशाको गरिमा घट्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै उनले पत्रकारहरु आफैले आफैलाई प्रमाणित गर्नुपर्ने आवश्यक्ता औँल्याए ।

समाजका सत्य एवम् तथ्य घटनालाई उजागर गर्नुका साथै नागरिकलाई सुसुचित बनाउने बाटोमा लाग्न उनले प्रशिक्षार्थीहरुलाई आग्रह गरेका छन् । पोखरिया नगरपालिकाको तर्फबाट पत्रकारको क्षमता अभिवृद्धी एवम् व्यक्तित्व विकासका निमित्त आफु सँधै प्रतिबद्ध रहेको पनि उनले बताए ।

जनमत पार्टी पर्साका अध्यक्ष ओमप्रकाश सर्राफ, पत्रकार मनोज मिश्रा लगायतले सहभागीहरुलाई तालिममा सिकेका कुराहरुलाई व्यवहारमा उतार्न सके मात्रै सिकेको उपलब्धी हुन सक्ने बताए ।

स्वास्थ्य पत्रकार समूहका निवर्तमान अध्यक्ष अनिता कुवँरले स्वागत मन्तव्य व्यक्त गरेको तालिमको सहजीकरण समूहका सचिव सञ्ज्य गुप्ताले गरेका थिए । तालिममा वीरगञ्जसहित पर्साका ग्रामिण भेग एवम् बारा लगायतका जिल्लाका पत्रकारिता सिक्न चाहने ५० जना प्रशिक्षार्थीको सहभागिता रहेको थियो ।


सम्बन्धित समाचार