Logo

७ जेठ, वीरगञ्ज । वीरगञ्जमा बौलाहा कुकुरले टोक्दा २० जना मानिस घाईते भएका छन् । रातो खैरो रंगको बौलाहा कुकरले वीरगञ्जस्थित फरक फरक स्थानका मानिसहरुलाई टोक्दा उनीहरु घाईते भएका हुन्

वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरिक्षक विदुर शिवाकोटाका अनुसार हिजो साँझसम्म २० जना मानिसहरुलाई कुकुरले टोक्दा नारायणी अस्पतालमा उपचारका लागि पुगेका थिए । उहाँले वडा नम्बर ६ रामटोलस्थित ६ नम्बर गेट अगाडिको सडकमा एक जना मानिसलाई टोकेको उक्त कुकुरले सो पश्चात छपकैया,माईस्थान, पानगल्ली, घण्टाघर, रानीघाट लगायतका टोल टोलमा पुग्दै सडकमा भेटिएका मानिसहरुलाई आक्रमण गरेको बताउनुभयो ।

कुकरकै टोकाइबाट घाईते भएका २० जना मानिस उपचारका लागि अस्पतालमा आएको नारायणी अस्पतालका सूचना अधिकारी डा.उदयनारायण सिंहले जानकारी दिनुभयो । घाईते हुनेहरुमध्ये एकजना बाहेक सबै ३ वर्षदेखि १२ वर्ष उमेर समूहका बालबालिका रहेको उहाँको भनाई थियो ।

टोलटोलमा मानिसलाई टोकेर घाईते बनाएका उक्त कुकुरलाई साँझ ६ बजे आदर्शनगरस्थित जैन धर्मशाला भवन पछाडिबाट वीरगञ्ज महानगरको टोलीले नियन्त्रणमा लिएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपक गिरिले जानकारी दिनुभयो ।

वीरगञ्जमा फेरी छाडा कुकुरको विगविगी बढेको छ । वीरगञ्ज महानगरपालिकाले गत माघमा सामुदायिक कुकुरको बन्ध्याकरण गरेको भएपनि केही दिन देखि वीरगञ्जमा छाडा कुकुरको सख्यामा बृद्धि भएको हो ।

गत माघमा सामुदायिक कुकुरको बन्ध्याकरण गरिएको वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत लक्ष्मी प्रसाद पौडेलले बताउनु भयो । केही दिन देखि छाडा कुकुरको समस्या लिएर जनगुनासो आउने गरेको छ, पौडेलले भन्नु भयो । छाडा कुकुरको टोकाईबाट केही व्यक्ति घाइते भएको समेत सूचना आफूले पाएको उहाँले बताउनु भयो ।

गएराती मानिसलाई टोक्दै हिडेको कुकुरलाई नगर प्रहरीले नियन्त्रणमा लिएको प्रमुख प्रशासकिय अधिकृत पौडेलले जानकारी दिनु भयो । उहाँले सामुदायिक कुकुरलाई रेविज विरुद्धको भ्याक्सिन लगाउने र घर पालुवा कुकुरलाई छाडा नछोड्न नगरवासीलाई अपिल गर्ने काम महानगरपालिकाले शुरु गरेको उहाँले बताउनु भयो ।


सम्बन्धित समाचार