Logo

फाइल तस्बिर

८ जेठ,जनकपुर । जनकपुर विमानस्थलको रनवेमा स्याल कुदेपछि अवतरण नगरेर यति एयरलाइन्सको जहाज काठमाडौँ फर्केको छ । पाइलटले दुई पटक अवतरण गर्न खोजे पनि रनवेमा स्याल देखिएपछि यति एयरलाइन्सको जहाज काठमाडौँ फर्केको हो ।

यति एयरलाइन्सका प्रबन्धक राजेश सिंहका अनुसार दुई पटक अवतरण गर्न खोजे पनि अवस्था प्रतिकूल नभएपछि जहाज फर्केको बताउनुभएको छ । उहाँका अनुसार जहाज जनकपुर विमानस्थलमा अवतरण गर्न पहिलो पटक पानी परेको हुँदा मौसमको कारण र अर्को पटक अवतरण गर्न खोज्दा रनवेमा स्याल देखेपछि जहाज फर्केको हो ।

पाइलटले एटीसीलाई रनवेको अवस्थाको बारेमा जानकारी गराउँदा जहाज अवतरण नगर्न सुझाएपछि जहाज ओभरसुट गरी फर्केको प्रबन्धक सिंहले बताउनुभयो । जनकपुर विमानस्थलमा आएर काठमाडौँ फर्केका यति एयरका जहाजमा ६० जना सवार रहेको एयरलाइन्सले जनाएको छ ।

जनकपुरको लागि हिजो साँझ ६ः१० को जहाज ६ः२० मा उडेको थियो भने जनकपुरबाट काठमाडौँको लागि ५९ जनाले टिकट बुकिङ गराएका थिए । काठमाडौँ फर्केको यतिका आजको फ्लाइट रद्द गरिएको एयरलाइन्सले जनाएको छन् । फ्लाइट रद्द हुँदा यात्रुहरू बिचल्लीमा परेका छन् ।


सम्बन्धित समाचार