Logo

८ जेठ,वीरगञ्ज । बाराको सुवर्ण गाउँपालिकामा सामुदायिक विद्यालयका प्रधानाध्यापकको सरुवा गरेको भन्दै विद्यार्थीहरुले तोडफोड र आगजनी गरेका छन् ।

हेड्मास्टरहरुको सरुवाको विषयलाई लिएर विद्यार्थीहरुले सुवर्ण गाउँपालिका भित्र प्रवेशगरी अध्यक्ष, उपाध्यक्षको कार्यकक्षमा समेत तोडफोड गरेका छन् ।

गाउँ पालिकाको कार्यालय भित्र प्रवेश गरेका विद्यार्थीहरुले अध्यक्ष राजेश प्रसाद यादव, उपाध्यक्ष पुनम कुमारीको कार्यकक्षमा भएका फर्निचर तोडफोड गरी कागजपत्र बाहिर ल्याएर आगो लगाएका छन् ।

गाउँपालिकाले केही दिन अघि मात्र हर्दिया माविका प्रधानाध्यापक रामएकवाल प्रसाद, देवापुर वहुर्आका प्रधानाध्यापक चन्देश्वर प्रसाद यादव, नेराप्रावि मझरीका प्रअ धर्मेन्द्र प्रसाद यादव र कवही जगाद माविका प्रअ नथुनी प्रसाद यादवको सरुवा गरेको थियो । उनीहरुको सहमतीमा सरुवा गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत वकिल प्रसाद पालले बताए ।

विद्यालयको शैक्षिक अवस्था सुधारका लागि शिक्षकहरुको सरुवा गरिएको गाउँपालिकाको भनाई छ । सरुवामा परेका शिक्षकले विद्यार्थी उचालेर तोडफोड र आगजनी गर्न लगाएको गाउँपालिकाका अधिकृत पालले जानकारी दिए ।

प्रधानाध्यापक सरुवा गरेको भन्दै आक्रोशित विद्यार्थीहरुले विद्यालय परिसरमा रहेका मोटरसाईकल तोडफोड गर्नुका साथै फर्निचरहरु समेत जलाई दिएका छन् । विद्यार्थीले गरेको तोडफोडले दर्जनौ मोटरसाईकल पूर्णरुपमा क्षति भएको छ ।

विद्यार्थीहरुको आक्रोपूर्ण आन्दोलनले संभावित घटना हुन नदिन जिल्ला प्रहरी कार्यालय बाराको टोली प्रदर्शन स्थलमा पुगेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायव उपरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिनुभयो । विद्यार्थीहरुको भीड नियन्त्रणका लागि प्रहरीले अश्रुग्यास समेत प्रहार गर्नु परेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

विद्यार्थीहरुले विद्यालय र गाउँपालिका भित्र प्रवेश गरेर तोडफोड र आगजनी गरेका छन् । आगजनीबाट केही मोटरसाइकल समेत क्षती भएको प्रमुख प्रशासकिय अधिकृत पालले बताए । त्यस क्षेत्रको स्थिती नियन्त्रणमा लिन ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

पर्सामा शिक्षक संघको आन्दोलनजारी

पर्सा जिल्लामा रहेको १४ वटा पालिकाहरुले ऐन, नियम र कार्यविधि विपरित राजनीति पूर्वाग्रहका कारण विद्यालयका शिक्षक सरुवा गरेको भन्दै शिक्षक महासंघले आन्दोलन शुरु गरेको छ ।

स्थानीय तहले मनमौजी शिक्षक सरुवा गर्ने र शिक्षकहरुले पनि राजनीतिक संरक्षणमा आन्दोलन गर्ने प्रवृत्तिले सामुदायिक विद्यालयको शिक्षामा अराजकता बढेको छ । पर्सा जिल्लामा पनि शिक्षक महासंघ आन्दोलनमा रहेका छन् । उनीहरुले आज महानगरपालिकाको मूल गेटमा दिउँसो १ बजे धर्ना गर्ने कार्यक्रम तय गरेको छ ।
पर्साका १४ वटा पालिकामा महासंघले धर्नाको कार्यक्रम राखेको छ ।


सम्बन्धित समाचार