Logo

८ जेठ, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले शिक्षक सरुवामा पूर्वाग्रह गरेको भन्दै नेपाल शिक्षक महासंघले सोमबार धर्ना कार्यक्रम संचालन गरेको छ । वीरगञ्ज महानगरपालिकाको मुल गेटमा व्यानर राखेर शिक्षकहरुले धर्ना दिएका हुन ।

नेपाल शिक्षक महासंघ पर्साका अध्यक्ष तिर्थराज यादवको नेतृत्वमा शिक्षकहरु आन्दोलनमा उत्रिएका हुन । मंगलवार (भोली) सम्ममा महानगरपालिकाले वार्ताको माध्यमले समस्या समाधान नगरे दोश्रो चरणको आन्दोलन गर्ने महासंघका पर्सा अध्यक्ष यादवको भनाई छ ।

स्थानीय सरकारलाई शिक्षक सरुवाको अधिकार नभएको भन्दै शिक्षक महासंघले शिक्षा ऐन २०२८ र नियमावली २०५९ अनुसार शिक्षा विकास समन्वय समितिलाई शिक्षक सरुवाको अधिकार हुनुपर्नेमा गैरकानुनी रुपमा महानगरले सरुवा गरेको अध्यक्ष यादवले बताए ।

शिक्षक महासंघले १५ बुँदे माग राखेर गत बैशाख २६ गते वीरगञ्ज महानगरपालिकालाई ज्ञापन पत्र बुझाएकोमा महानगरपालिकाको तर्फबाट कुनै सुनुवाई नभएको यादवको भनाई छ । हामीले उठाएका माग सम्वोधन नभए बुधवार देखि दोश्रो चरणको आन्दोलनको कार्यक्रम शुरु गरिने महासंघ पर्साका अध्यक्ष यादवले जानकारी दिए ।

वीरगञ्ज महानगरपलिकाको शैक्षिक प्रशासन महाशाखाले गैरकानुनी रुपमा शिक्षकहरुको सरुवा गरेको, शिक्षकहरुलाई डर, त्रास र धम्की दिने गरेको, चाकडी र चप्लुसी गर्नेलाई अवसर र काम गर्ने शिक्षकलाई दण्ड दिने महानगरको नीतिका विरुद्धको आन्दोलनमा आउनु परेको संघका अध्यक्ष यादवले भनाई छ ।

वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले शिक्षामा सुधार गर्न खोजिएको र अस्तव्यस्त शिक्षा क्षेत्रलाई व्यवस्थित गर्न महानगरपालिकाले ऐन नियम र कानुन अनुसार नै आफ्नो काम कार्वाही अगाडी बढाएको बताए ।

संविधान र संघीय कानुनले स्थानीय तहलाई शिक्षा क्षेत्रको समेत अधिकार दिएको हुँदा निष्क्रिय अवस्थामा रहेको शिक्षा ऐन २०२८ को दावी गर्नुको कुनै तुक नरहेको मेयर सिंहको धारणा छ । लामो समय देखि शिक्षा क्षेत्रका देखिएको अराजकता र अनियमितालाई नियन्त्रण गर्न महानगरपालिकाले लिएका नीति कार्यान्वयन गरेरै छोडने मेयर सिंहले प्रतिवद्धता व्यक्त गरे ।

वीरगञ्ज महानगरपालिकाले कसैलाई आग्रह र पूर्वाग्रह राखेर काम नगर्ने मेयर सिंहको भनाई छ । जसले राम्रो काम गर्छ उसलाई प्रोत्साहन र गलत गर्नेलाई दण्डको नीति अख्तियार गरिने मेयर सिंहले बताए । मेरो तेरो होइन राम्रो गर्नेलाई उचित मूल्यांकन गरिने परिपाटीको विकास गर्न खोजिएको छ ।

मेयर सिंहले शिक्षकहरुलाई आन्दोलन फिर्ता लिएर नियमित रुपमा विद्यालयमा पुगेर बालबालिकालाई पढाउने कार्यमा लाग्न आग्रह गरेका छन् । शिक्षा क्षेत्रका आमूल सुधारको खाँचो छ त्यसलाई सुधार गर्ने मुद्धा बाहेक सरुवाको बिषयमा कसैसँग बार्ता नहुने सिंहको बताए ।

यता शिक्षक महासंघले वीरगञ्ज महानगरपालिकासँग बार्ता गर्नको लागि महासंघका महानगर कमिटि अध्यक्ष विनोद मेहताको अध्यक्षतामा ५ सदस्यीय बार्ता समिति गठन गरेको पर्सा अध्यक्ष तिर्थराज यादवले बताए ।


सम्बन्धित समाचार