Logo

९ जेठ, काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले सत्ता गठवन्धन दलहरुसँग छलफल नै नगरी एकलौटी रुपमा मन्त्रीपरिषद पुर्नगठन गर्न लागेको भन्दै तीन दलले सरकार छोडने निर्णयमा पुगेका छन् ।

मुख्यमन्त्रीको कार्यशैलीको विरोध जनाउदै नेकपा माओवादी केन्द्र, जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले सरकार छोडने निर्णय गरेका हुन ।

मुख्यमन्त्री सरोज कुमार यादवले नेपाली कांग्रेस र एकीकृत समाजवादीलाई समेटेर मन्त्रिपरिषद विस्तार गरेलगत्तै माओवादी केन्द्रको संसदीय दलको बैठकले सरकार छोड्ने निर्णय गरेको हो ।

माओवादी केन्द्र संसदीय दलको बैठकले सरकार छाड्ने निर्णय गरेको दलका नेता भरत कुमार साहले जानकारी दिए ।

मन्त्रालय भागबण्डाका लागि हिजो बसेको दलहरुको बैठकमा माओवादीले दुईवटा मन्त्रालयमा दाबी गरेको थियो । तर बैठकमा सहमति जुटेको थिएन ।

मुख्यमन्त्री यादवले आज कांग्रेसका कृष्णप्रसाद यादवलाई भौतिक पूर्वाधार विकास मन्त्री र वीरेन्द्र कुमार सिंहलाई स्वास्थ्यमन्त्रीमा नियुक्त गरेका छन् ।

यसैगरी एकीकृत समाजवादीका गोविन्द न्यौपाने पनि मन्त्री नियुक्त भएका छन् । तर उनको मन्त्रालयको जिम्मेवारी तोकिएको छैन ।

उपेन्द्र यादव जनमतलाई किनारा लगाउने रणनीतिमा देखिन्छन् । सोहीअनुसार मंगलबार मन्त्रिपरिषद् विस्तार गर्ने तयारी हुँदा जनमतका मन्त्रीको जिम्मेदवारी खोसेर विनाविभागीय बनाइएको छ ।

जनमतका मधेस प्रदेश दलका नेता महेशप्रसाद यादवले सहमति विपरित जनमतले सम्हाल्दै आएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी फेरिएको बताए । उनले यसमा पार्टीको आपत्ति रहेको बताए ।

जनमतले सम्हाल्दै आएको उक्त मन्त्रालयको जिम्मेवारी खोसेर नेकपा एकीकृत समाजवादीलाई दिन लागिएको छ । हालसम्म कृषि मन्त्रालयको जिम्मेवारी जनमत पार्टीका बसन्त कुशवाहाले सम्हाल्दै आएका छन् ।

जनमतले प्रदेश सरकारमा सम्हाल्दै आएको मन्त्रालय खोसिनुअघि सो पार्टीसँग कुनै छलफल नभएको बताइएको छ ।

मुख्यमन्त्रीको कार्यशैली प्रति रुष्ट नेकपा माओवादी केन्द्र, जनमत पार्टी र लोसपाले सरकार छोडने निर्णयमा पुगेका हुन ।


सम्बन्धित समाचार