Logo

९ जेठ,वीरगञ्ज । मधेश प्रदेशको समग्र जनसङ्ख्याको ९० प्रतिशत मानिसले अझैपनि जीवाणुयुक्त खानेपानी खाइरहेको तथ्य सार्वजनिक भएको छ । उर्जा सिँचाइ तथा खानेपानी मन्त्रालय मधेश प्रदेश सरकारको आयोजनामा हिजो सोमबार सम्पन्न खानेपानी तथा सरसफाई सम्बन्धी सम्मेलनमा सो विषयमा जानकारी गराएको हो ।

मधेशको सप्तरी, सिरहा, धनुषा र महोत्तरी गरी चार वटा जिल्लाको सहभागिता रहेको उक्त सम्मेलनमा युनिसेफद्वारा जारी गरिएको एक तथ्याङ्कअनुसार नेपालको सम्पूर्ण जनसङ्ख्याको २४ प्रतिशत मानिसको पहुँचमा मात्रै शुद्ध खानेपानीमा रहेको छ ।

मधेश प्रदेशमा त्यो भन्दापनि कम १० प्रतिशत मानिसले मात्रै शुद्ध खानेपानी खान पाएको उक्त तथ्याङ्कले सार्वजनिक गरेको छ । उक्त तथ्याङ्क अनुसार मधेश प्रदेशका सहरी क्षेत्रमा तीन प्रतिशत नागरिकमा अझै खानेपानीको पहुँच छैन भन्ने ग्रामिण भेगका ०.६ प्रतिशत नागरिकमा खानेपानीको समस्या अझै कायम छ ।

यस प्रदेशमा ६७ प्रकारको पानीको स्रोत रहेपनि यहाँका ९० प्रतिशत जनताले अझै ब्याक्टेरियल युक्त खानेपानी खाइरहेका छन् । २.१ प्रतिशत मानिस उच्च आर्सेनिक र ९.८ प्रतिशतले न्यून आर्सेनिक भएको पानी खान बाध्य छन् ।

देशको सातै प्रदेशमध्ये कर्णाली र सुदूरपश्चिम पश्चात अशुद्ध खानेपानी खानेमध्ये मधेश प्रदेश तेस्रो स्थानमा रहेको मन्त्रालयका डिभिजन इन्जिनियर सुरेन्द्र प्रसाद शर्माले जानकारी दिनुभयो । मधेश प्रदेश चालु आर्थिक वर्षमा तीन सय ७८ वटा खानेपानीका योजनाहरु सञ्चालित अवस्थामा छ ।

 


सम्बन्धित समाचार