Logo

११ जेठ,वीरगञ्ज । मधेस प्रदेश सरकारमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सहभागी हुने भएको छ । लोसपा मधेस प्रदेशका प्रदेशसभा सदस्य रमेश प्रसाद कुर्मीको नेतृत्वमा सो पार्टी सरकारमा सहभागी हुने भएको हो ।

वन तथा वातावरण मन्त्रालय सम्हाल्ने गरी सरकारमा जाने निर्णय भएको सो पार्टीका कार्यकारिणी सदस्य जितेन्द्र सोनलले बताए ।
‘अरू थप मन्त्रालयको बारेमा छलफल चलिरहेको छ, तर अहिले एउटा मन्त्रालय लिएर सरकारमा सहभागी हुने सहमति भएको छ’ सोनलले भने । पार्टीका तर्फबाट कुर्मीले आज साँझ ५ बजे वनमन्त्रीको रूपमा शपथ लिने कार्यक्रम तय भएको छ । कुर्मी पर्साको निर्वाचन क्षेत्र नम्बर–२ (ख)बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन ।

लोसपा केन्द्रीय सरकारमा सहभागी भएको छ । केन्द्रमा एउटा मन्त्रालय लिएको लोसपाले मधेस प्रदेशमा दुईवटा मन्त्रालय माग गरिरहेको छ । तर एउटा मन्त्रालयमा सहमति भएको छ । गठबन्धनको बैठकले आलोपालो सरकारको नेतृत्व गर्ने निर्णय गरेसँगै मधेसमा पहिलो चरणमा जसपाले त्यसको नेतृत्व गरिरहेको छ ।

मुख्यमन्त्री सरोज यादवले मन्त्रिपरिषद् विस्तार गर्दा एकलौटी ढङ्गबाट गरेको भन्दै माओवादी केन्द्र, लोसपा र जनमत पार्टी असन्तुष्ट थिए । मुख्यमन्त्री यादवले पहिला कृषि मन्त्री रहेका जनमतका वसन्त कुशवाहा र कृषि राज्यमन्त्री सञ्जय यादवलाई अहिले विना विभागीय मन्त्री बनाएका छन् । माओवादी केन्द्रले पनि दुईवटा मन्त्रालय माग गर्दै आएको छ ।


सम्बन्धित समाचार