Logo

११ जेठ,काठमाडौँ । सरकारले रेशम चौधरीको बाँकी कैद सजाय माफी गर्ने तयारी गरेको छ । टीकापुरमा २०७२ भदौमा ७ जना सुरक्षाकर्मी र एक नाबालकको मृत्यु भएको घटनामा दोषी ठहर भई जन्मकैदको सजाय पाएका उनको बाँकी सजाय माफी गर्ने भएको हो ।

उनको बाँकी जन्मकैदको सजाय माफी गर्न निवेदन गृह मन्त्रालयबाट राष्ट्रपति कार्यालयमा पुगेको छ । यसबारे छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल र चौधरीको टिमका प्रतिनिधि राष्ट्रपति निवास पुगेका थिए ।

गृह मन्त्रालयले मुलुकी फौजदारी कार्यविधि संहिता ऐन, २०७४ अनुसार सजाय माफीको प्रक्रिया अघि बढाएर फाइल राष्ट्रपति कार्यालयमा पठाएको हो ।राष्ट्रपति कार्यालय स्रोतका अनुसार पूर्वसांसदसमेत रहेका चौधरीको कैद माफीसम्बन्धी गृह मन्त्रालयको प्रस्तावमाथि अध्ययन भइरहेको छ ।

यसअघि जिल्ला अदालत कैलाली र उच्च अदालत दिपायलले जन्मकैदको सजाय सुनाएका चौधरीलाई सर्वोच्च अदालतले पनि गत २ जेठमा जन्मकैदको फैसला सदर गरेको थियो ।चौधरी १५ फागुन, २०७४ देखि डिल्लीबजारस्थित कारागारमा रहँदै आएका छन् । माफी मिनाहाको प्रक्रिया कार्यान्वयन भए उनले १५ वर्ष कैद सजाय मिनाहा पाउने भएका छन् ।


सम्बन्धित समाचार