Logo

११जेठ,बारा । बाराको व्यावसायिक शहर सिमराको मुख्य चोकमा दुई सटर भित्र १५ सैयाको नक्कली निम्स हस्पिटल बिगत ५ बर्ष देखी संचालन हुदै रहस्य बाहिर आएको छ ।

जीतपुर सिमरा उपमहानगरको सिमरा नगर अस्पतालमा कार्यरत ल्याब टेक्निसियन आजम हुसेन संचालक रहेको उक्त अस्पताल स्वास्थ्य संस्था संचालन तथा मापदण्ड निर्देशिका बिपरित दुई वटा सटरमै संचालन हुदै आएको हो ।

सिमरा उपमहानगर १५ का ५४ बर्षीय हरिशरण कार्कीलाई संचालक आजम स्वयंले शरीरमा धेरै किटाणु छ, बिषादी हालेर मार्नु पर्छ भन्दै परीक्षण बिनै विभिन्न औषधी र सुई लगाएपछि झण्डै मृत्यु हुन पुगेका कार्कीका परिवारले घटना सार्वजनिक गरे लगतै निम्स अस्पताल कानुन बिपरीत संचालन भैरहेको रहस्य बाहिर आएको हो ।

निम्स हस्पिटलले पहिलोपटक लिएको अस्थायी अनुमतिको म्यादगुज्रिएको १ वर्षपछि २०७१ माघ २८ गते जिल्ला स्वास्थ्य कार्यालय बाराबाट २०७२ असोज २८ गते सम्मका लागि आवश्यक पूर्वाधार निर्माण गर्ने गरी म्याद थपको अनुमति पाए पनि त्यस यता थप नविकरण नभएको पाइएको छ ।

सिमरा शहरको मुख्य चोकमै खुलेआम ‘डेट एक्सपाएर’ कागजका भरमा दुईवटा सटरमै १५ सैयाको नाम दिएर मानब स्वास्थ्यसँग खेलवाड गर्ने अस्पताललाई उपमहानगरले तत्काल कार्वाही गर्नु पर्ने जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख राम नरेश यादबले माग नै गरेका छन् ।

बिरामीको गलत उपचार गरेर प्रहरी कार्यालयमा दर्जनौ उजुरी परेको उक्त अस्पतालले अनुमानका भरमा धेरै औषधी दिने, कतिपय औषधी म्याद गुजे्रका हुने, असुरक्षित गर्भपतन तथा गर्भ निरोधक औषधीहरु साना उमेर समूहकामा बिक्री बितरण गर्ने गरेको उजुरीमा उल्लेख रहेको ईलाका प्रहरी कार्यालयले जनाएको छ । जीतपुरसिमरा उपमहानगरपालिकाले स्वास्थ्य संस्थादर्ता, अनुमति तथा नविकरण सम्बन्धि नियमावली २०७९ जारी गरेर नगर भित्र सञ्चालित अस्पताललाई दर्ता अनुमति तथा नविकरणका लागि आह्वान पनि गरेको महिनौ बिते पनि उक्त अस्पताल सम्पर्कमा नआएको स्वास्थ्य महाशाखा प्रमुख रबि भाष्करले बताए ।

जीतपुरसिमरा उपमहानगरपालिकाका प्रमुख राजन पौडेलले तोकिएको समयमा नविकरण नगरे अस्पताललाई कारवाही शुरु गर्ने बताए ।

नगरमा तीन दर्जन बढी स्वास्थ्य संस्था र अस्पताल संचालनमा रहे पनि उपमहानगरले अन्तिम सूचना गरेयता ५ वटा क्लिनिक मात्रै सम्पर्कमा आएको जनाएको छ ।साभार ईमेजखबर


सम्बन्धित समाचार