Logo

१२जेठ,काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुले नाराबाजी गरेपछि प्रतिनिधिसभा बैठक २० मिनेटका लागि स्थगित गरिएको छ। शुक्रबार प्रतिनिधिसभा बैठक सुरु भएलगत्तै उठेर विरोध जनाएका एमाले सांसदहरु अहिले रोष्ट्रम घेरेर नाराबाजी गरेका थिए।

पशुपतिनाथको मन्दिरमा सुनको जलहरी भनेर पित्तलको राखेर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार गरेको आरोप सत्तापक्षका सांसदले लगाएको भन्दै उनीहरुले सरकारले जवाफ दिनुपर्ने माग गर्दै रोष्ट्रम घेरेर नाराबाजी गरिरहे।

बैठक चल्न दिन पटक पटकको आग्रह गर्दा पनि एमाले सांसदले नमानेपछि सभामुख देवराज घिमिरेले शुक्रबार नै बस्नेगरी २० मिनेटका लागि बैठक स्थगित गरेका हुन्।यसअघि सभामुख घिमिरेले एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ र प्रमुख सचेतक पदम गिरीलाई बोल्न समय दिए।

उनीहरुले सरकारले जवाफ नदिएसम्म बैठक चल्न नसक्ने बताए।सोही बेला माओवादीका हितराज पाण्डेलाई बोल्न समय दिएपछि एमाले सांसदहरुले रोष्ट्रम घेरेर नाराबाजी गरिरहे। सभामुख घिमिरेले पटक पटक बैठक चल्ने वातावरण बनाउन यथास्थानमा गएर आसन ग्रहण गर्न आग्रह गरिरहे। तर, एमालेका सांसदले नमानेपछि बैठक नै स्थगित गरिएको हो।


सम्बन्धित समाचार