Logo

फाइल तस्बिर

१३ जेठ,वीरगञ्ज । प्रधानमन्त्री पुष्पकमल दाहालको जेठ १७ गतेदेखि २० गतेसम्म हुने भारत भ्रमणको कार्य तालिका सार्वजनिक भएको छ । आज परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गरी प्रधानमन्त्री दाहालको भारत भ्रमणको कार्य तालिका सार्वजनिक गरेको हो ।

गत पुसमा प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेपछि प्रधानमन्त्री दाहालको यो पहिलो विदेश भ्रमण हुन लागेको हो । प्रधानमन्त्री दाहालको भ्रमणटोलीमा स्वकीय सचिवसमेत रहेकी छोरी गंगा दाहाल, मन्त्रीहरू, सचिवहरू र नेपाल सरकारका उच्च अधिकारीहरू सम्मिलित हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री दाहालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, राष्ट्रपति द्रोपदी मुर्मु, उपराष्ट्रपति जनदीप धनखरसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । कार्यक्रम तालिका अनुसार प्रधानमन्त्री दाहालले जेठ १८ गते नरेन्द्र मोदी र प्रतिनिधिमण्डलसँग हैदरावाद हाउसमा वार्ता गर्नु हुनेछ ।

त्यसपछि दिवाभोजको आयोजना गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री दाहाल नेपाल फर्किनुअघि मध्य प्रदेशको इन्दोर र उज्जैन भ्रमण गर्ने नेपालको परराष्ट्र र भारतको विदेश मन्त्रालयले जनाएका छन् ।

 


सम्बन्धित समाचार