Logo

१४ जेठ,बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिकामा विभिन्न उधोगले सार्वजनिक जग्गा मिचेको पाईएको छ । कुलो समेत भएको जग्गा अतिक्रमण हुँदा वर्षामा पानीको निकास नहुने भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन् ।

त्यसो त वडा नं. १० को कार्यालयले त्रिभुवन राजपथको पश्चिमपट्टी कुलो रहेको खोलाको सार्वजनिक जग्गा खाली गर्न उद्योगीहरूलाई आग्रह गरेको छ । हनुमान मेटल्सलाई पत्राचार नै गरेर वडा अध्यक्ष सञ्जय पटेलले १५ दिनभित्र जग्गा खाली गर्न आग्रह गर्नुभएको हो ।

 

खोला उकासको सार्वजनिक जग्गा मिचेर उद्योग स्थापना भएको र वर्षायाममा पानीको निकासा हुन नपाउदाँ समस्या हुने पत्रमा उल्लेख गरिएको छ । तर स्थानीयले भने बाटो र कुलोको सार्वजनिक जग्गा कब्जा गर्ने उद्योगलाई छोडेर अन्य उद्योगीलाई पत्र काटिएको बताएका छन् । उद्योगीसँगको मिलेमतोमा त्यसो गरिऐको हुनसक्ने आशंका उनीहरूले गरेका छन् । वडाध्यक्ष पटेलले भने सिजि एग्रो प्रालिलाई मौखिक रुपमा जानकारी गराएको बताउनुभयो ।

वडाले चलनचल्तीमा रहेको बाटोलाई नै कायम राखेर ढलान गर्न लागेपछि उपमहानगरले बैशाख २४ गते वडा कार्यालयलाई आवश्यक कागजपत्र पेश गर्न निर्देशन दिएको थियो । उपभोक्ता समिति गठनको सक्कल माईन्युट, उपभोक्ता समिति गठनको लागि ७ दिन अगाडीको सार्वजनिक सूचनाको प्रतिलिपि र उपभोक्ता समिति गठन हुदाँको आम भेलाको फोटोहरु समेत पेश गर्न निर्देशनमा उल्लेख छ ।

उद्योगसँगको मिलेमतोमा चलनचल्तीमा कायम रहेको बाटो सडक ढलान गर्दा २० औ वर्षदेखि व्यापार, व्यवसाय गरेर बसेका स्थानीयको नम्बरी जग्गा बाटोमा पर्ने र सार्वजनिक जग्गा उद्योगभित्र पर्ने देखिएको स्थानीयको भनाई छ ।

जीतपुर सिमरा वडा नं १० का निर्वतमान वडाध्यक्ष सरोज कुमार राउतले सिजि एग्रो प्रालिले उपमहानगर र वडा कार्यालयलाई मिलाएर सार्वजनिक कुलो मिचेको आरोप लगाउनुभयो । उहाँले सबै वडाबासीको भनाई बमोजिम उद्योगले कब्जा गरेको सार्वजनिक जग्गा खाली गरेर मात्रै बाटो ढलान गर्नुपर्नेमा जोड दिनुभयो ।
उद्योगले कब्जा गरेको जग्गा खाली नगर्नका लागि नै वडालाई १५ लाख आर्थिक सहयोग गरेको राउतको आरोप छ ।

यता सिजि एग्रो प्रालिका प्रशासकिय प्रमुख बिजयमल्ल ठाकुरले जग्गा नापजाँच नभएसम्म जग्गाको विषयमा नबोल्ने बताउनुभयो ।
नगरप्रमुख राजन पौडेलले उद्योगले अतिक्रमण गरेको बाटो र कुलोको जग्गा फिर्ता ल्याएर संरक्षण गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले स्थानीयको गुनासोलाई सम्बोधन गर्दै सबैलाई उपयोगी हुने हिसाबले बाटो निमार्ण गर्नुपर्ने नगरपालिकाको दायित्व भएकाले सोही बमोजिम काम हुने बताउनुभयो ।


सम्बन्धित समाचार