Logo

१७ जेठ,वीरगञ्ज । वीरगञ्जको पप्पु कन्स्ट्रक्सन सहित देशभरका २३ वटा ठेकेदार कम्पनीहरु कालो सूचीमा परेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय मातहतको सार्वजनिक खरिद अनुमगन कार्यालयले दुई दर्जन कम्पनीलाई कालो सूचीमा राखेको हो ।

सुमित रौनियार नेतृत्वको पप्पु कन्स्ट्रक्सन प्रालि र भावेश बोहोरा नेतृत्वको कोशी एण्ड न्यौपाने निर्माण सेवा प्रालि दुई वर्षसम्म कालोसूचीमा परेका छन् । पप्पु÷कोशी एण्ड न्यौपाने जेभीलाई संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय पोखपरा र शहीद मार्ग सडक आयोजना लिवाङ रोल्पाले कालोसूचीमा राख्न सिफारिस गरेका थिए । वाईपी कन्स्ट्रक्सन, कलेज अफ इम्प्लोइमेन्ट प्रालि भरतपुर चितवन लगायतका कम्पनीहरु कालोसूचीमा परेका छन् ।

मोहोन न्यौपाने मुख्य व्यक्ति रहेको कलेज अफ इम्प्लोइमेन्ट प्रालि चितवनलाई उद्योग मन्त्रालय अन्तर्गतको ग्रामिण उद्यम तथा विप्रेषण आयोजना इटहरीको सिफारिसमा तीन वर्षसम्म कालोसूचीमा राखिएको छ । यसैगरी पुष्पलाल (मध्यपहाडी) राजमार्ग आयोजना निर्देशनालय र पुष्पलाल राजमार्ग आयोजना कार्यालय दैलेखको सिफारिसमा सुरेन्द्र प्रसाद श्रेष्ठ नेतृत्वको वाईपी कन्स्ट्रक्सन प्रालि ललितपुरलाई १ वर्ष ६ महिनासम्म कालोसूचीमा राखिएको छ । कालो सूचीमा परेका निर्माण व्यवसायी वा आपूर्तिकर्ताहरुले कालोसूचीमा परेको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउँदैनन् ।

 


सम्बन्धित समाचार