Logo

१७ जेठ,बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.८ रमौली निवासी २६ वर्षिय प्रदिप कुश्वाहा बेपत्ता भएको ४ बर्ष ५ महिना पुगेपनि उहाँको अवस्था अझै अज्ञात नै रहेको छ । गाउँकै साथीहरुसँगै होटलमा खाजा खाएर घर आएका उनी घरमा पस्न नपाई फोनमा कुरा गरेर निस्किएको र अहिलेसम्म घर फर्किएर आएका छैनन् ।

बिदेश जाने तरखरमा रहेका प्रदिपको गोजीमा ७५ हजार रुपैया पैसा रहेको उनको आमा बिद्या देबी कुश्वाहाले बताउनुभयो । २०७५ साल पुस १६ गते गाउँकै रधही सहनीले आफनो छोरा प्रदिपलाई बेपत्ता पारेको हुन सक्ने आमाको आशंका छ । बेपत्ता भएको छोराको खोजी गर्न प्रहरी प्रशासन, आफन्तकोमा सबैठाउँ खोजी गरेपनि अझै फेला नपरेको उहाँले गहभरी आँशु बनाएर दुखेसो गर्नुभयो । प्रदीप जीवित छन् या छैनन् भन्ने परिवारलाई चिन्ता छ ।

उनका नौं बर्षीय छोरा र ७ बर्षीय छोरीले बाबा कति खेर आउँनुहुन्छ भनेर सोधेपछि आफुहरु निशब्द हुने गरेको प्रदीपका बुवा अमर कुश्वाहाले बताउनुभयो । प्रहरीले अहिलेसम्म सास र लाशको विषयमा प्रदिपको परिवारलाई केही भन्न सकेको छैन् । प्रदिप बेपत्ता भएको घट्नामा प्रहरीले उहाँसँगै खाजा खान गएका स्थानीय तीन जनालाई पक्राउ गरेको थियो । त्यो घट्नामा प्रहरीले ४० बर्षीय प्रदिप पासवान, ४२ बर्षिय पच्चु पासवान र ५२ बर्षिय रधही सहनीलाई पक्राउ गरेको थियो ।

प्रमाणको अभावमा प्रहरीले पक्राउ परेका तीनै जनालाई छोडेको थियो । प्रदिपको बुवा अमर कुश्वाहाले प्रहरी नियन्त्रणमा रधही सहनीले मलाई छुटाई दिनुस तपाईको छोरालाई म ल्याईदिन्छु भनेपछि आफुले एसपीसँग अनुरोध गरेर छुटाएको बताउनुभयो । ५२ बर्षिय रधही अहिले आफनो परिवारसँगै गाउँ छाडेर फरार छन् ।

छोराको खोजिमा नेपाल र भारतको कुना कुनामा आफु पुगेको बुवा अमर कुश्वाहाले बताउनुभयो । छोराको खोजीमा सगुन, भाकल लगायतको थुप्रै कार्य गरेको उहाँले जानकारी दिनुभयो । छोरा प्रदिपको खोजिमा जग्गा बेचेर करिब १६ लाख खर्च भईसकेको बुवा अमरले बताउनुभयो । प्रदिपको बुवा अमरले छोरा बाचेको वा मरेको प्रमाणित नभईदिँदा आफुहरुको मन बिचल्लित भईरहेको बताउनुभयो । गाउँघरमा चाडपर्वमा छरछिमेकमा रमाईलो गरिरहँदा आफ्नो घरमा प्रदिपको यादले रुवाबासी चल्ने गरेको अमरले दुखेसो पोख्नुभयो ।


सम्बन्धित समाचार