Logo

१७ जेठ,पचगावाँ,पर्सा । पर्साको ग्रामीण भेगमा रहेका सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिका अहिले अत्याधिक गर्मीका कारण बेहोश हुन थालेका छन् । सामुदायिक विद्यालयका कक्षाकोठामा पंखाको सुविधा नहुदाँ गर्मीका कारण विद्यार्थी कक्षाकोठामै पठनपाठनको समयमा बेहोश हुन थालेका हुन् ।

पर्सा, बारा लगायत देशैभर पछिल्लो एक साता यता अत्याधिक गर्मी बढेको छ । यसक्षेत्रमा तापक्रम बढेर ४३ डिग्रि सेल्सियससम्म पुग्ने गरेको छ । जसका कारण स्थानियबासिन्दा लगायत विद्यार्थी तथा किसान नराम्रोसँग प्रभावित भएका हुन् ।पर्साको पटेर्वासुगौली गाउँपालिकास्थित वनदेवी आधारभूत विद्यालय भतौडामा आज एक छात्रा बेहोश भएकी छिन् ।

कक्षा ४ अध्ययनरत सहाबुन नेशा कक्षा कोठामा पढ्दै गरेको अवस्थामा बेहोश भएकी हुन् । साहबुन अत्याधिक गर्मीका कारण आज बिहान साढे ९ बजे कक्षाकोठामै बेहोश भएको विद्यालयका प्रधानाध्यापक सुभाष प्रसाद साहले जानकारी दिनुभयो ।

बेहोश भएपश्चात उनको घरपरिवारलाई खबर गरेको उहाँले बताउनुभयो । सहाबुनको अवस्था गम्भिर रहेकोले उनलाई वीरगन्ज अस्पतालमा पठाइएको साहले जानकारी दिनुभयो ।
यता गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सन्देश कुमार यादवले पालिकाले यस विषयमा जनप्रतिनिधिसँग छलफल गरि विद्यालयमा पंखा लगाउन बजेट व्यवस्थापन गर्न माग गर्ने आश्वासन दिनुभएको छ ।

उहाँका अनुसार अघिल्लो वर्षमा पनि गाउँपालिकाले पालिका अन्र्तगत ८ वटा विद्यालयमा पंखा जडान गरेको बताउनुभयो ।
यस विषयमा पालिका अध्यक्ष दिनेश कुमार चौधरीसँग जानकारी लिन पटकपटक फोन गर्दा उहाँको फोन उठेन ।बालबालिकालाई विद्यालयमा अध्ययन गर्न पठाईने भएपनि यसरी विद्यालयमै बेहोस् हुन थालेपछि अहिले अभिभावक बालबालिकालाई विद्यालय पठाउने वा नपठाउने भन्ने बारे दोधारमा परेका छन् ।


सम्बन्धित समाचार