Logo

१९ जेठ,सेढवा । पर्सा जिल्लाको एक मात्र इलाका प्रशासन कार्यालय सुपौली साढे दुई महिनादेखि बन्द रहेको छ । ग्रामीण भेगको ठोरी, जिराभवानी, जगरनाथपुर र पटेर्वासुगौली गाँउपालिकाका नागरिकहरुलाई सेवा प्रवाह गर्ने उद्देश्यले स्थापित उक्त कार्यलयले सेवा प्रवाह गर्न पटकपटक बन्द गर्दै आएको हो ।

सो कार्यालयबाट नागरिकले नागरिकता, नागरिकताको प्रतिलिपी, समावेशी समुदायको प्रमाण पत्र लगायतको सेवा लिदैँ आएका थिए ।
विगतमा कर्मचारी अभावको कारण देखाउदैँ जिल्ला प्रशासन कार्यलय पर्साले साताको एकपटक मात्र सेवा प्रदान गर्ने गरेको थियो । जसकारण सेवाग्राहीको भिड बढी हुनाले उनीहरुलाई सास्ती भोग्न बाध्य थिए । तर गाउँमै सेवा लिन पाउँदा नागरिकले खुसी व्यक्त गरेका थिए ।

तर यता गत चैत्र महिनादेखि सेवा नै बन्द हुदाँ सेवा लिन वीरगञ्ज धाउनुपरेको जिराभवानी गाउँपालिका–१ का रोहित चौधरीले जानकारी दिनुभयो । ईलाका प्रशासन सुपौलीको सेवा नै वीरगञ्जमा सार्दा स्थानिय निराश बनेका छन् । विना जानकारी नै सुपौलीबाट प्रदान गरिने सेवा वीरगञ्जमा सार्दा अहिले उक्त क्षेत्रका बासिन्दालाई आवातजावत गर्न समयसँगै खर्चिलो पर्ने उनीहरुको भनाई छ ।

जिल्ला प्रशासन कार्यालय पर्साका शाखा अधिकृत बिनय कुमार श्रीवास्तवले मन्त्रालयले नै अधिकृत नपठाउँदा सुपौलीमा सेवा प्रवाह प्रभावित भएको बताउनुभयो । उहाँले जिल्लामा अधिकृत भएको बेला सातामा एक दिन सेवा दिदै आएको जानकारी दिनुभयो । तर अहिले जिल्ला प्रशासन कार्यालय पर्सामा जम्मा दुई जना शाखा अधिकृत भएकाले सुपौलीको काम भ्याउन नसकेर उक्त कार्यलयको सेवा जिल्लामा सारिएको उहाँको भनाई छ ।

मन्त्रालयले सुपौलीका लागि अधिकृत पठाए पुनः सेवा प्रवाह गरिने अधिकृत श्रीवास्तवले जानकारी दिनुभयो । गाउँमै आम नागरिकहरुलाई सेवा प्रदान गर्ने उद्देश्यले नेपाल सरकारले ०७५ पुष ११ गते जिराभवानी गाँउपालिका वडा नं ४ सुपौलीमा उक्त कार्यलयको स्थापना गरिएको थियो ।


सम्बन्धित समाचार