Logo

१९ जेठ, वीरगञ्ज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगल गैर नेपालीलाई वंशजको आधारमा नागरिकताको प्रमाणपत्र दिएको आरोपमा विशेष अदालतबाट सफाई पाएका तत्कालीन सहायक प्रमुख जिल्ला अधिकारी दुर्गादत्त पौडेलसहित ८ जनाविरुद्ध विहिवार सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।

किर्ते गरेर भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालत काठमाडौंले गरेको फैसला चित्त नबुझी सर्वोच्चमा पुनरावेदन गरिएको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए ।

वीरगञ्ज महानगरपालिका वडा नं. २ बस्ने अजहर हुसेन र आरिफ हुसेनलाई गैरकानूनी रुपमा नेपाली नागरिकताको प्रमाणपत्र दिएको आरोपमा पौडेलसहित वीरगञ्ज महानगरपालिका वडा नं. २ का तत्कालीन वडाध्यक्ष शेष अव्वास, जिल्ला प्रशासन कार्यालय पर्साका तत्कालीन नायव सुब्बा चन्द्रदेव ठाकुर र तत्कालीन प्रशासकीय अधिकृत सदनकुमार कर्णविरुद्ध मुद्धा दायर गरिएको थियो ।

उनका अनुसार नागरिकतामा किर्ते गरेर भ्रष्टाचार गरेकोसम्बन्धी मुद्दामा विशेष अदालतले प्रतिवादीहरूलाई सफाइ दिएको थियो । सबै प्रतिवादीहरुले अनुसन्धान तथा अदालतमा बयान गर्दा समेत आरोपित कसूरमा इन्कार रही बयान गरेकाले सफाई पाएको विशेष अदालतले जनाएको छ ।

वीरगञ्जका अजहर हुसेन र आरिफ हुसेन नेपाली नागरिक भन्ने देखिएले कानून बमोजिम नागरिकताको प्रमाणपत्र पाउन योग्य नै देखिएको र निजहरूले कानूनले तोकेको प्रक्रिया पूरा गरी आवश्यक कागजात संलग्न गरी नागरिकताको लागि आवेदन दिई नागरिकता लिएको र पेश भएका विवरणमा बदनियतपूर्वक मिति सच्याएको वा थपेको भन्ने स्पष्ट दावी नदेखिएको विशेष अदालतको ठहर छ ।

नागरिकता सम्बन्धी कागजातमा केरमेट वा व्यहोरा थप्ने कार्य प्रतिवादीहरूको मिलेमतोमा वा जानीजानी वदनियत पूर्वक गरेको भन्ने प्रतिवादीहरु उपरको आरोपदावी वादी पक्षले पुष्टि गर्न नसकेकोले शंका र अनुमानको भरमा कसूरदार कायम गर्न मिल्ने नदेखिएको भन्दै पर्साका तत्कालीन सहायक प्रमुख जिल्ला अधिकारी सहित ८ जनालाई सफाई दिने फैसला गरेको थियो ।

बसाइसराइको सरकारी कागजातमा घरमुलीको विवरण सच्चाएको, वीरगञ्ज महानगरपालिका वडा नं. २ को सिफारिसमा केरमेट गरी झुट्टा विवरणको आधारमा अजहर र आरिफको नाममा वंशजको आधारमा नेपाली नागरिकता बनाउने कार्यमा उनीहरु संलग्नता देखिएको कोइरालाले जानकारी दिए ।

यस्तै सोमबार नै वीरगञ्ज महानगरपालिका वडा नम्बर १५ का वडाध्यक्षसहित पर्साका तत्कालिन सहायक प्रमुख जिल्ला अधिकारीसहित ४ जनाविरुद्ध बिशेष अदालत काठमडौंमा मुदा दायर भएको छ । दुई फरक मुद्दामा पर्साका तत्कालिन सहायक प्रमुख जिल्ला अधिकारी दुर्गादत्त पौडेल र नासु चन्द्रदेव ठाकुर दोहोरिएका छन् ।

झुट्टा विवरणको आधारमा ममता कुमारी गुप्तालाई नागरिकता प्रमाणपत्र दिएको आरोपमा वीरगञ्ज महानगरपालिका वडा नम्बर १५ का वडाध्यक्ष गजेन्द्र प्रसाद कुर्मी, पर्साका तत्कालिन सहायक प्रमुख जिल्ला अधिकारी पौडेल र नासु ठाकुरविरुद्ध अख्तियारले मुद्धा दायर गराएको हो । झुट्टा विवरण पेश गरी नागरिकता लिने ममता कुमारी विरुद्ध पनि अख्तियारले मुद्धा दायर गरेको छ ।

जिल्ला प्रशासन कार्यालय पर्साबाट गलत कागजातको आधारमा गैर नेपालीलाई वंशजको आधारमा नागरिकता प्रमाणपत्र दिएको भन्ने उजुरीको आधारमा अनुसन्धान हुँदा उनीहरु चारैजना मिलेर ममताकुमारी गुप्ताको नामको नेपाली नागरिकताको पतिको नामको खण्डमा जयप्रकाश प्रसाद गुप्ता लेखी सच्चाएको, स्थानीय पञ्जिकाधिकारीबाट जारी हुने सरकारी कागजातहरुमा समेत नाम लगायतका विवरण सच्याई झुट्टा विवरणको आधारमा आशिषकुमार गुप्ताको नाममा वंशजको आधारमा नेपाली नागरिकता बनाउने कार्यमा सँलगन रहेको आरोपमा मुदा दायर गराइएको प्रवक्ता दाहालद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तीमा उल्लेख छ ।

प्रतिवादीहरु शेष अव्वास, चन्द्रदेव ठाकुर, सवरुन खातुन, आरिफ हुसेन, सदनकुमार कर्ण र दुर्गादत्त पौडेल समेतले मिलोमतो र योजना बमोजिम आरिफ हुसेन र अजहर हुसेनको अनुसूची १ फाराममा निवेदकले जन्मस्थान वसतपुर ८ उल्लेख गरेको तर नागरिकता जारी हुँदा बीरगञ्ज महानगरपालिका वडा नं. २ उल्लेख भएको तथा बाबु मोतिउर रहमानको नागरिकता प्रमाणपत्र नं. उल्लेख नगरी अनुसूची १ फाराममा केरमेट गरी झुट्टा विवरण कायम गरी नागरिकता जारी गरीएको आयोगको दावी छ ।

आयोगले सबै प्रतिवादीहरुको भ्रष्टाचारजन्य कसूरमा पूर्ण संलग्नता रहेको पुष्टी भएकाले मिसिल संलग्न स्वतन्त्र प्रमाणलाई प्रमाण ऐन, २०३१ को दफा १८ बमोजिम प्रमाणको रुपमा गह्रण गरी फैसला गर्नु पर्नेमा सो विपरित प्रतिकूल हुने गरी प्रतिवादीहरुलाई सफाई दिने मनसायले मिसिल संलग्न प्रमाणको उचित मुल्याङ्कन बिना भएको फैसला भई त्रुटीपूर्ण भई बदरभागी रहेको दावी सहित सवोच्चमा मुद्धा दायर गरेको हो ।

जयप्रकाश गुप्तासँग ममताकुमारी गुप्ता र छोरा आशिषकुमार गुप्ताको नाता सम्बन्ध खुल्ने नाता प्रमाणित वा विवाह दर्ताको प्रमाणपत्रको छायाप्रति पेश भएको नदेखिएको र प्रतिवादी ममताकुमारी गुप्ताको नागरिकताको पतिको नाम खण्डमा जयप्रकाशप्रसाद गुप्ता लेखी नागरिकताको प्रमाणपत्रको प्रतिलिपीमा सच्याएको, ममताकुमारीले लिएको नागरिकताको प्रमाणपत्रमा बाबु मदनमोहनप्रसाद कलवारको नाम मात्र उल्लेख भएको, जन्मदर्ताको प्रतिलिपिमा आशिषकुमार गुप्ताको “श“ अक्षरमा केरमेट गरेको देखिए समेतका मिसिल संलग्न स्वतन्त्र प्रमाणबाट सबै प्रतिवादीहरुको भ्रष्टाचारजन्य कार्य पुष्टी भएको आयोगको दावी छ ।


सम्बन्धित समाचार