Logo

१९ जेठ, वीरगन्ज । वीरगन्ज–पथलैया औद्योगिक करिडोर क्षेत्रमा पर्ने तीनैवटा स्थानीय तहले अगामी आर्थिक वर्ष २०८०/८१ देखि करको दरमा एकरुपता ल्याउन गृहकार्य थालेका छन् ।

औद्योगिक करिडोर क्षेत्रमा पर्ने वीरगन्ज महानगरपालिकासँगै पर्साको परवानीपुर गाउँपालिका र बाराको जितपुर सिमरा उपमहानगरपालिकाले अगामी आव २०८०/८१ देखि करको दरमा एकरुपता ल्याउने सहमति गरेका हुन् ।

तीन स्थानीय तहका प्रमुखबीच भएको बैठकले करको दर र आयका शीर्षकमा एकरुपता ल्याउने निर्णय गर्दै त्यसका लागि कार्यदल बनाइएको छ । संयुक्त बैठकले आयका शीर्षक र करको दरमा एकरुपता ल्याउन वीरगन्ज महानगरपालिकाका राजस्व शाखा प्रमुख मनोज कर्णको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन गरेको छ ।

समितिमा जितपुर सिमरा उपमहानगरपालिकाका राजस्व शाखा प्रमुख रामप्रसाद शर्मा र परवानीपुर गाउँपालिकाका राजस्व शाखा प्रमुख कृष्णप्रसाद यादव सदस्य छन् । कार्यदलले यस क्षेत्रमा कुन विषयमा कति कर लगाउन मनासिव देखिन्छ भन्नेबारे अध्ययन गरेर तीन दिनभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी पाएको छ ।

कार्यदलले अध्ययन गरेर प्रतिवेदन दिएपछि पुनः बैठक बसेर त्यसबारेमा निर्णय लिइने जितपुरसिमरा उपमहानगरपालिकाका मेयर राजन पौडेलले बताए ।

वीरगन्ज महानगरका प्रमुख राजेशमान सिंहले औद्योगिक करिडोरमा पर्ने तीनैवटा सरकारले यहाँका उद्योगी–व्यवसायी तथा स्थानीयको सहजताका लागि करको दरमा एकरुपता ल्याउन खोजिएको बताए ।

महानगर प्रमुख सिंहको अध्यक्षतामा बसेको बैठकमा जितपुर सिमराका प्रमुख राजन पौडेल, वीरगन्ज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलम, जितपुर सिमराका उपप्रमुख भोलाप्रसाद अधिकारी, परवानीपुर गाउँपालिकाका प्रमुख राछत्रीप्रसाद कुर्मी, वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेल, जितपुरसिमरा उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरिलाल पुरी, परवानीपुर गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत मुन्ना साह रौनीयार लगायतको सहभागी थिए ।


सम्बन्धित समाचार