Logo

१९ जेठ, वीरगञ्ज । वीरगञ्ज लगायत देशभरका मुख्य भंसार कार्यालयमा काम गर्ने भंसार एजेण्टहरुले सरकारको नीति विरुद्ध आन्दोलनमा उत्रिएका छन् ।

वीरगञ्ज भंसारमा काम गर्ने एजेन्टहरुले पेन डाउन गरेपछि मुख्य नाका वीरगञ्जबाट हुने निकासी पैठारीको काम ठप्प भएको छ । भंसार एजेन्टले कुनै काम नगरेपछि निकासी पैठारीको काम रोकिएको वीरगञ्ज भंसारले जनाएको छ ।

नेपाल सरकारले जेठ १५ गते जारी गरेको आर्थिक विद्येयकमा निकासी वा पैठारीमा हुने मालबस्तु भंसार छुटाउन वा भंसार कार्यालय सम्वन्धी कामको लागि भंसार एजेन्ट नै स्वयम उपस्थित हुनु पर्ने व्यवस्था गरेपछि भंसारमा काम गर्ने एजेन्ट र उनका प्रतिनिधिहरुले आज देखि काम ठप्प पारेर आन्दोलनमा उत्रिएका हुन ।

जेठ १५ गते सरकारले जारी गरेको बजेटमा भंसार ऐन २०६४ तथा नियमावली २०६४ (चौथौ) संशोधनमा भंसार प्रतिनिधि (एजेन्ट) स्वंयम उपस्थित हुनुपर्ने व्यवस्था गरेको हुदाँ सोही अनुसार गर्न वीरगञ्ज भंसार कार्यालयले आज सूचना जारी गरेको छ । उक्त सूचना सार्वजनिक भए लगत्तै वीरगञ्ज भंसारमा काम गर्ने एजेन्ट र प्रतिनिधिहरु कलम बन्द गरेर आन्दोलनमा उत्रिएका हुन ।

यस अघि भंसार ऐन २०६४ र नियमावालीमा एउटा भंसार एजेन्टले दुई जना प्रतिनिधि नियुक्त गरेर भंसार सम्वन्धी निकासी पैठारीको काम गर्न सक्ने प्रावधान थियो ।


सम्बन्धित समाचार