Logo

१९ जेठ, वीरगञ्ज । वीरगञ्जमा फेरि झ्याप–झ्याप बिजुली जाने क्रम बढेको छ । पछिल्लो एक हप्तामा वीरगञ्जका विभिन्न क्षेत्रमा रातको समयमा अनियमित रुपमा लाइन जाने समस्या बढेको हो ।

पछिल्ला दिनमा जसरी गर्मी बढेको छ, त्यही दरमा विद्युत जाने समस्या समेत बढेको हो । बिहीबार राती वीरगञ्जका विभिन्न स्थानमा पटक–पटक बिजुली गयो । यसैगरि एकसातादेखि लाइनहरु प्रभावित हुँदा सर्वसाधारणले सास्ती भोग्नुपरेको गुनासो गरेका छन् ।

रातको समयमा कहिलेँ त एक घण्टा नै लोडसेडिङ्ग हुन थालेपछि स्थानीयले ‘अघोषित लोडसेडिङ’ समेत भन्न थालेका छन् । कतिले भने यसलाई विद्युत् प्राधिकरणका पदाधिकारीलाई नै गाली गर्दै सामाजिक सञ्जालमा चर्को प्रतिक्रिया दिईरहेको छन् । बेला न कुबेला झ्याप्झ्याप लोडसेडिङ्ग हुनाले वीरगञ्जका नागरिक अहिले दिक्क भएका छन् ।

गत हप्तादेखि अचानक बढेको प्रचण्ड गर्मीका कारण वीरगञ्जबासी न त घर बाहिर निस्किन सकेका छन् । झ्याप–झ्याप लोडसेडिङ्ग हुदाँ न त घरभित्र नै बस्न सकेका छन् । छिनछिनमा लोडसेडिङ्ग हुदाँ विद्युतीय उपकरणमा समेत असर गरेको स्थानियको गुनासो छ । यसरी अघोषित लोडसेडिङले घरेलु उपभोक्ता मात्रै नभई व्यवसायी समेत मर्कामा परेका छन् । उनीहरुले अचानक झ्याप–झ्याप लाईन जादाँ गर्दागर्दैको काम रोकिने गरेको बताएका छन् ।

हिजो बिहिबार मात्र रातमा ४ पटक लाईन कट्दा रातभर सुत्न नसकेकोले आज शुक्रबार अफिसमा काम गर्ने जागँर नचलेको वीरगञ्ज १५ भिष्वा निवासी सृष्टि थापाले जानकारी दिनुभयो । आजपनि त्यस्तै हाल हुने होला भन्ने विषयले अहिले नै चिन्तित बनाएको उहाँको गुनासो छ ।

त्यस्तै रातको समयमा काटिने लाईनकै कारण आफ्नो निदाएका बच्चा समेत निन्द्राबाट ब्यूझिएर रुने वीरगञ्ज १० आर्दशनगर निवासी बिना शर्माले बताउनुभयो ।

यता, नेपाल विद्युत प्राधिकरण वीरगञ्ज वितरण केन्द्रका निमित्त प्रमुख सिताराम साहले प्रणालीमै समस्या भएको कारण पटकपटक बत्ती जाने गरेको बताउनुभयो । उहाँले कति पटक गर्मीकै कारण तारहरु जलेर लोडसेडिङ हुने गरेको जानकारी दिनुभयो । अनियमित रुपले लोडसेडिङ हुदाँ सर्वसाधारणलाई भईरहेको समस्यालाई स्विकार गर्दै उहाँले केन्द्रबाट नै आदेश आएको हुनाले पटकपटक लाइन काट्ने गरेको जानकारी दिनुभयो ।


सम्बन्धित समाचार