Logo

२१ जेठ,वीरगञ्ज । मधेस प्रदेशमा बेरोजगारीको समस्या बढ्दो रहेको तथ्य सार्वजनिक भएको छ । प्रदेशभरिनै गाउँमै रोजगारको वातावरण सिर्जना हुन नसक्दा युवाहरु वैदेशिक रोजगारीको लागि बाहिरिने गरेको तथ्य सार्वजनिक भएको हो ।

श्रम तथा रोजगार विभागले उपलब्ध गराएको तथ्याङक अनुसार देशमा रोजगारको व्यवस्था गर्ने वातावरणको अभावमा बिदेश पलायन हुने युवाहरुमध्ये २५ प्रतिशत मधेसकै रहेको उल्लेख छ । चालु आर्थिक वर्षमा देशैभरबाट ६ लाख ५६ हजार ९ सय ७० जना रोजगारकै लागि बिदेश गएका छन् । जसमध्ये मधेश प्रदेशबाटै १ लाख ५७ हजार ९ सय ८६ जना रहेको तथ्याङकले देखाएको छ ।

मधेस प्रदेशका जिल्लाहरुमा सबैभन्दा बढि धनुषा जिल्लाबाट युवाहरु विदेशिएको तथ्याङकमा उल्लेख छ । धनुषाबाट प्रतिमहिना औसतमा साढे तिन हजार जना युवा रोजगारीको लागि बिदेशिएका छन् । भने सबैभन्दा कम पर्सा जिल्लाबाट गएका छन् ।

तथ्याङक अनुसार चालु आर्थिक वर्षमा धनुषाबाट ३४ हजार ८ सय ४७, सिरहा २५ हजार ७०२, महोत्तरीबाट २५ हजार ६७८, सर्लाही २० हजार ८ सय ९७, सप्तरीबाट १८ हजार ३ सय ३०, रौतहटबाट १३ हजार २ सय ३०, बाराबाट १२ हजार ६२६ र पर्साबाट ६ हजार ६७८ जना वैदेशिक रोजगारीमा बिदेशिएका छन् ।

यसरी बारा, पर्सा र रौतहटमा बैदेशिक रोजगारीमा जानेहरुको सङख्यामा कमि हुनु यस जिल्लाहरुमा औद्योगिक क्षेत्र भएकोले स्थानीयस्तरमै रोजगारको व्यवस्था हुनु मुख्य कारण रहेको बताईएको छ । गत आव ०७८÷७९ मा देशभरबाट ६ लाख ३० हजार ९६ जना वैदेशिक रोजगारका लागि गएकोमा मधेश प्रदेशबाट १ लाख ६९ हजार ५ सय २१ जना गएका थिए ।


सम्बन्धित समाचार