Logo

२२ जेठ,काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले संसद्मा विपक्षीले उठाएका विषयमा आज प्रष्टीकरण दिने भएका छन् । आर्थिक वर्षको बजेट पास गर्न चाप हुने भन्दै सभामुख देवराज घिमिरेले सदनमा देखिएको अवरोध हटाउन प्रधानमन्त्री दाहाललाई आग्रह गरेपछि दाहालले आफूले आज सदनमा प्रष्टीकरण दिएर सदन खुलाउन पहल गर्ने बताएका हुन् ।

प्रधानमन्त्री दाहालको सचिवालयले आज प्रधानमन्त्रीले भारत भ्रमणलगायत विषयमा धारणा राख्ने तयारी गरिरहेको जानकारी दिएको छ ।

सभामुख घिमिरेले प्रतिनिधि सभाको अवरोध हटाउने विषयमा आइतबार साँझ प्रधानमन्त्री दाहालसँग टेलिफोन संवाद गरेका थिए । घिमिरेले बजेट पारित गर्न समयको चाप रहेको स्मरण गराउँदै विपक्षी दलसँग संवाद गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका थिए ।

आइतबार प्रमुख प्रतिपक्षी दल नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीले भारत भ्रमणका क्रममा दिएको अभिव्यक्तिबारे प्रधानमन्त्री दाहालले जवाफ दिनु पर्ने बताइरहेका छन् । त्यस्तै रेशम चौधरीलाई आममाफी र नागरिकता प्रमाणीकरणको विषय पनि विपक्षीले संसदमा उठाएका छन् ।

प्रधानमन्त्री भारत भ्रमणका क्रममा नेपालको भूमि लिपुलेख भारतले अन्य स्थान (बंगलादेशसँग सीमा जोड्ने स्थान) दिएमा साट्न सकिने बताएका थिए । त्यसको विपक्षीले विरोध गर्दै संसदमा माफी माग्नु पर्ने बताएका छन् ।

सभामुखसँगको संवादमा अध्यक्ष दाहालले सदनमा विपक्षीले उठाएको मागबारे आफू जानकार रहेको बताउँदै सोमबार संसद्मा आफूले प्रस्टीकरण दिने बताएका थिए ।

‘म एमाले अध्यक्ष केपी शर्मा ओलीसहित विपक्षी दलसँग पनि कुरा गर्छु, सरकारका तर्फबाट लचकता र पहल हुन्छ,’ प्रधानमन्त्रीले सभामुखलाई भनेका थिए ।


सम्बन्धित समाचार