२९ जेठ,वीरगञ्ज । निर्माण व्यवसायी संघ पर्साका पूर्वअध्यक्ष रामाकान्त चौरसियालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रशासन कार्यालय पर्सामा हिजो भइरहेको छलफलका क्रममा अर्को पक्षमाथि हातपात गर्नुका साथै कार्यालयको फर्निचर तोडफोड समेत गरेको आरोपमा चौरसियालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
आर्थिक लेनदेनका विषयमा परेको उजुरीका विषयमा हिजो पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलको रोहबरमा उहाँकै कार्यकक्षमा चौरसिया र ढुङगा गिट्टीका ठेकेदार त्रिपुरारी प्रसादबीच छलफल चलिरहेको थियो ।
छलफल चलिरहकै बेला चौरसियाले त्रिपुरारीमाथि हातपात गर्दै कार्यालयमा रहेको टेबल तोडफोड समेत गरेपछि उनलाई नियन्त्रणमा लिइएको पर्साका प्रहरी नायब उपरीक्षक निर्मल बुढाथोकीले जानकारी दिनुभयो ।
चौरसियालाई जिल्ला प्रहरी कार्यालयमा राखेर अनुसन्धान भइरहेको बुढाथोकीले बताउनुभयो । यता सहायक प्रमुख जिल्ल अधिकारी पौडेलले भने, छलफलकै क्रममा उनीहरुले एक अर्कामाथि हातपात गर्दै तोडफोड समेत गरेपछि प्रहरीको जिम्मा लगाएर जिल्ला प्रहरी कार्यालय पठाइदिएको पौडेलले जानकारी दिनुभयो ।
चौरसिया र त्रिपुरारी दुवैजनाबीच लेनदेनका विषयमा लामो समयदेखि विवाद रहेको र त्यसैबारे सिडिओ कार्यालयमा दुवै पक्षलाई राखेर छलफल भइरहेका बेला एकले अर्कोमाथि हात हालेपछि हानहान गरेर एउटा टेबल समेत तोडफोड गरेको सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनुभयो ।