Logo

३० जेठ, जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले पुनः प्रदेश सभामा सबै दलबाट विश्वासको मत पाएका छन्। कुल १०७ सदस्यीय मधेश प्रदेश सभामा आज १०३ जना सांसद उपस्थित भएका थिए। ती मध्ये सबै सांसदले पक्षमा मतदान गरेको सभामुख रामचन्द्र मण्डलले घोषणा गरे।

नेकपा एमालेले गठबन्धन भत्किएसँगै जेठ १ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । समर्थन फिर्ता लिएको एमालेले आज ३० औँ दिनमा प्रतिपक्षमा बस्ने गरी मुख्यमन्त्री यादवलाई विश्वासको मत दिएको छ । मुख्यमन्त्रीले आज आकस्मिक रूपमा प्रदेश सभाको बैठक बोलाएर विश्वासको मत लिँदा सिङ्गो सदनकै मत पाए ।

नेकपा एमाले, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा), जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेपाल, संघीय समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टीले सरोजकुमार यादवलाई विश्वासको मत दिएको हो।

यीमध्ये जसपा, कांग्रेस, लोसपा, जनमत, नेकपा एस र माओवादी सरकारमा सहभागी छन् भने बाँकी दलहरूले बाहिरबाटै सरकारलाई समर्थन गरेको हो।

प्रदेश सभामा एमालेका २४, कांग्रेस २२, जसपा १८, जनमत १३, लोसपा र माओवादीका ९-९, एकीकृत समाजवादीका सात सांसद छन्। नेपाल संघीय समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टीका एक(एक जना सांसद छन्। यस्तै दुई जना स्वतन्त्र सांसद छन्।

यसअघि पुरानो सत्ता समीकरणमा आवद्ध दल नेकपा एमालेले सरकारबाट बाहिरिएर दिएको समर्थन समेत फिर्ता लिएपछि मुख्यमन्त्री यादवले हतारमा आज विश्वासको मत लिएका हुन्।


सम्बन्धित समाचार