Logo

३१ जेठ,काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले भ्रष्टाचार र बेथितिविरुद्ध कसैसँग पनि नझुक्ने बताएका छन् । सम्झौता गर्नुपरे बरु सरकार छाड्ने तर नझुक्ने बताएका हुन् ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहान आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले सरकार आफ्ना लागि ठूलो कुरा नभएको भन्दै गलत सम्झौता नगर्ने बताए ।
दाहालले सरकार सुशासनका निम्ति दृढतापूर्वक अगाडि बढ्ने बताए ।

पार्टी नेता डिआर पौडेलको चौथो स्मृति दिवसमा आयोजित कार्यक्रममा दाहालले भने, ‘कतिपयले आशंका गरेको देख्छु, सरकार कतै झुक्छ कि सम्झौता गर्छ कि भन्ने । तर, प्रष्ट रूपमा भन्छु, सरकार मेरा लागि ठूलो कुरा होइन । ठूलो कुरा सुशासन हो, जनताको सेवा गर्नु हो । भ्रष्टाचार निर्मूल पार्न सरकार दृढतापूर्वक अगाडि बढ्छ, कहिँ सम्झौता हुँदैन, झुकिँदैन ।’

पछिल्लो पटक सरकारले नक्कली भुटानी शरणार्थी प्रकरणमा भएको भ्रष्टाचारविरुद्ध चालेको कदम र आफ्नो भारत भ्रमणको क्रममा भएका सहमति सम्झौता ऐतिहासिक भएको उनको भनाइ छ ।

प्रधानमन्त्री दाहालले भने, ‘राष्ट्रवादको कुरा गर्ने हो भने अहिलेको भारत भ्रमण जतिको राष्ट्रवाद केही पनि होइन ।’

भारतमा १० वर्षमा १० हजार मेगावाट बिजुली निर्यात, नेपाल–भारत पारवहन सम्झौता नवीकरण, हवाई रुट, भन्सार जाँच चौकी लगायतका विषयमा भएका सम्झौता ऐतिहासिक भएको दाहालको दाबी छ ।

घेराबन्दी र अप्ठ्यारो परिस्थितिका बीच सरकारले राम्रा काम गरेको दाबी गर्दै प्रधानमन्त्री दाहालले त्यसको प्रचार भने कम भएको बताए ।


सम्बन्धित समाचार