Logo

३२ जेठ,वीरगञ्ज । पर्साको विन्ध्यवासिनी गाउँपालिका भरिनै बर्थिङ सेन्टर नभएपनि बर्थिङ सेन्टरका लागि आवश्यक पर्ने लाखौं मुल्य बराबरका सामान खरिद गरिएको पाईएको छ ।

महालेखा परिक्षकको कार्यालयले हालै जारी गरेको अडिट रिपोर्टमा बर्थिङ सेन्टरका लागि पाँच लाख मूल्य बराबरको न्यानो झोला खरीद गरी गोदाममा थन्क्याइएपछि सो रकमले बेरुजू मात्र नभई भ्रष्टाचारको सीमा नाघेको पाइएको हो ।

उक्त सामानहरु चालू वर्षको लागि मात्र खरीद गरेको नभई प्रत्येक आवको वार्षिक बजेटबाट खरीद हुँदै आएको महालेखापरीक्षकको कार्यालयले जानकारी दिएको हो ।

पालिकाले प्रत्येक आर्थिक वर्षमा न्यानो झोला खरीद गर्दै आएको स्वास्थ्यकर्मीहरूले नै बताएका छन् । विन्ध्यवासिनी गाउँपालिका बाहेक पर्साका १३ वटै पालिकामा बर्थिङ सेन्टर सञ्चालनमा छन् । जनप्रतिनिधिहरूको लापरवाहीका कारण हालसम्म विन्ध्यवासिनी गाउँपालिकामा भने बर्थिङ सेन्टर सञ्चालनमा आउन नसकेको स्थानियको भनाइ छ ।

महालेखा परिक्षकको प्रतिवेदनले उक्त गाँउपालिकामा २० करोड सात लाख ७७ हजार बेरुजू रहेको उल्लेख गरेको छ । त्यस्तै नियम अनुसार उक्त गाउँपालिकाले १९ लाख बराबरको इन्धन खर्चिनुपर्नेमा ३३ लाख ९४ हजारको इन्धन खरीद गरेकोमा सचेत गराएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

 


सम्बन्धित समाचार