Logo

१ असार,काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले काठमाडौं महानगरका मेयर (प्रमुख) बालेन्द्र शाह (बालेन)लाई स्पष्टीकरण सोधेको छ ।

सिनामंगलस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा पूर्वजानकारी र सूचना नदिई फेन्सिङ तार काटेको विषयमा मेयर बालेन सहित तीन जनालाई प्राधिकरणले स्पष्टीकरण सोधेको हो ।

महानगरको ९ नम्बर वडामा पर्ने प्राधिकरणको विमानस्थल क्षेत्रसँग सम्बन्धित क्षेत्रमा बिहीबार महानगरले नगरप्रहरीसहितको टोली पठाई फेन्सिङ तार काटिदिएको थियो ।

यसै विषयमा प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले महानगर प्रमुखसहितलाई स्पष्टीकरण सोध्नेका हुन् । बालेनले चित्तवुझदो जवाफ नदिएमा उडानमा प्रतिबन्ध लगाउन सकिने पनि जनाइएको छ । प्राधिकरणले यसै विषयमा महानगरका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे र वडा नम्बर ९ का अध्यक्ष रामजी भण्डारीलाई पनि सात दिनभित्र लिखित स्पष्टीकरण बुझाउन भनेको छ ।

यो कानुन उल्लंघन गरेको पुष्टि भएमा शाहले ५० हजार रुपैयाँसम्म जरिवाना तिर्नुपर्नेछ । जरिवाना नतिरेमा उडानमा प्रतिबन्ध लगाउन सकिने प्राधिकरणको कानुनमा व्यवस्था रहेको छ ।

प्राधिकरणले यस कार्यलाई कानुनविपरीत भएको बताएको छ ।

‘प्राधिकरणका कर्मचारीले फेन्सिङ तार नकाट्न अनुरोध गर्दा पनि अटेर गरी जबर्जस्ती कार्य गरेको, सोसम्बन्धी पत्र तथा जानकारी माग्दा नगर प्रमुखको आदेशबमोजिम कार्य गरेको र त्यहीँ सोध्न जानुहोस् भनी जवाफ दिएकाले सो कार्यमा तपाईं (मेयर) को संलग्नता देखिएकाले प्राधिकरणको ऐनको दफा ७ को कसुरमा ७ दिनभित्र लिखित स्पष्टीकरण पेस गर्नु,’ प्राधिकरणले मेयर साहलाई सोधिएको स्पष्टीकरण पत्रमा उल्लेख गरिएको छ ।


सम्बन्धित समाचार