Logo

२ असार,वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाको फरक फरक सूचनाले विद्यालय खुल्ने कि नखुल्ने भन्ने अन्योलता सृजना गरेको छ ।

असार ७ गतेसम्मका लागि विद्यालयको विदा थप गरिएको व्यहोराको सूचना सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो । महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखा प्रमुख अरविन्दलाल कर्णको हस्ताक्षर सहितको सूचनामा विदा ७ गतेसम्म थप गरिएको भनेर उल्लेख गरिएको छ ।

त्यस लगत्तै शैक्षिक प्रशासन महाशाखाको आधिकारिक फेसबुक पेजमा गर्मी विदा थप गरेको भन्ने सूचना गलत रहेको र असार ३ गते भोली बिहान ६ बजेदेखि विद्यालय सञ्चालन गर्न अनुरोध गरेको उल्लेख गरेको छ ।

भ्रम फैलाउने खालको सूचना सामाजिक सञ्जालमा पोष्ट गर्नेहरुको पहिचान भईरहेकोले भ्रममा नपर्न अभिभावकहरुलाई आग्रह गरेको छ । साथै कसैको व्यक्तिगत पोष्टमा राखेको पत्र भन्दा शैक्षिक प्रशासन महाशाखाको पेज वा वीरगञ्ज महानगरपालिकाको वेबसाईटमा राखेको पत्र मात्र आधिकारिक रहेको जनाएको छ ।

तर, वीरगञ्ज महानगरपालिकाको आधिकारिक फेसबुक पेजबाट पुनः अर्को सूचना सार्वजनिक गरेर सामुदायिक विद्यालयहरु मात्रै असार ५ गते मंगलबार सम्मका लागि विदा थप गरेको जनाएको छ । शैक्षिक प्रशासन महाशाखाका शिक्षा अधिकृत हरि राउतले हस्ताक्षर गरेको सूचनामा संस्थागत विद्यालयहरुलाई भने तोकिएको छैन ।

आज बिहानै देखि हालिएको ३ वटा छुट्टाछुट्टै सूचनाहरुले अभिभावक, विद्यालय संचालक र विद्यार्थीहरु अन्योलमा परेका छन् । कुन चाहिँ आधिकारिक हो भन्ने विषयमा जानकारी लिन शैक्षिक प्रशासन महाशाखाका प्रमुख अरविन्दलाल कर्णको सरकारी मोबाइल नम्बर ९८५५०१७७९५ मा सम्पर्क गर्दा स्वीच अफ बताएको छ ।

निजी नम्बरमा सम्पर्क गर्दा मोबाईल उठाउनु भएन । त्यस्तै शिक्षा अधिकृत हरि राउतको भने मोबाईल स्वीच अफ गरिएको छ ।

 


सम्बन्धित समाचार