Logo

२ असार,वीरगञ्ज । आमजनता पार्टीका अध्यक्ष तथा पूर्व मन्त्री प्रभु साहले समाजवादी मोर्चाको कुनै औचित्य नै नभएको टिप्पणी गर्नुभएको छ । वीरगन्जमा आम विद्यार्थी मोर्चाको अगुवा कार्यकर्तासँगको भेटघाट तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले जनतालाई गुमराह बनाउन कथित समाजवादीको विषय उठाइएको दाबी गर्नुभएको हो ।

लोकतन्त्रको कुरा गर्नुको साटो समाजवादको कुरा गरेर जनतालाई ढाट्ने काम मात्र भइरहेको उहाँको भनाइ थियो । माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा, नेसपा लगायतका दलहरूले समाजवादी मोर्चाको घोषणा गर्दै गर्दा अध्यक्ष साहले यस्तो टिप्पणी गर्नुभएको हो ।

जनतालाई शक्तिशाली बनाएर विकास, समृद्धि, सुशासनको प्रत्याभूति गराउन लागिपर्नेमा झुटको खेती गर्नका लागि समाजवादी मोर्चाको हावा फैलाउन लागिएको उहाँको ठहर छ । आम विद्यार्थी मोर्चाको सो कार्यक्रमबाट मोफसलमा चल्ने यातायातका सार्वजनिक सवारी साधनहरूमा विद्यार्थीलाई ४५ प्रतिशत छुटको व्यवस्था गर्न माग गरिएको छ ।

काठमाडौँ उपत्यकामा विद्यार्थीलाई सार्वजनिक यातायातमा ४५ प्रतिशत छुट दिइए पनि उपत्यका बाहिर नदिएकोमा आपत्ति जनाउँदै सङ्घर्षका कार्यक्रम अगाडी बढाउने निष्कर्ष कार्यक्रमको रहेको छ ।

यस्तै कार्यक्रममा बिद्यार्थीको अहिलेको विभिन्न समस्या, शैक्षिक अवस्था, विद्यालय, क्याम्पसको पठनपाठन लगायतका विषयमा गम्भीर छलफल भएको थियो । गुणस्तरीय शिक्षाका लागि आम विद्यार्थी मोर्चाले सङ्घर्षका विभिन्न कार्यक्रम गर्ने बताइएको छ ।


सम्बन्धित समाचार